विराटनगर, २७ वैशाख । स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री मोरङका सबै मतदानस्थलमा पुर्याइएको छ ।
१७ वटा स्थानीय तह रहेको मोरङमा तीन सय मतदानस्थल र आठ सय २० वटा मतदान केन्द्र छन् । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले मतपेटिका, मतपत्र, स्वस्तिक छाप लगायतका निर्वाचनलाई आवश्यक पर्ने सबै सामग्री सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेको जानकारी दिनु भयो । मौसमको प्रतिकूलतालाई ध्यानमा राखेर निर्वाचन सामग्रीको सुरक्षाका लागि मतदानस्थलमा आवश्यक पर्ने त्रिपाल र प्लाष्टिक लगायतका सामग्रीको व्यवस्थापन गर्न निर्देशन दिइसकिएको उहाँको भनाइ छ ।
‘मौसमविद्ले चुनावका दिन मौसम प्रतिकूल हुनसक्ने पूर्वानुमान गरेका छन्,’ उहाँले भन्नु भयो, ‘निर्वाचन सामगीको सुरक्षामा विशेष ध्यान दिएका छौँ ।’ उहाँका अनुसार मोरङमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र अन्य कर्मचारीहरु मतदानस्थलमा खटाइसकिएको छ । निर्वाचन सम्पन्न गर्न मोरङमा चार हजार एक सय कर्मचारी परिचालन गरिने प्रजिअ दाहालले बताउनु भयो ।
एउटा मतदान केन्द्रमा तीन जनाका दरले परिचालन गर्ने गरी स्वयंसेवक छनोट गरिएको उहाँको भनाइ छ । जिल्ला तीन दिनका लागि दुई हजार चार सय ६० स्वयंसेवक खटाइने उहाँले बताउनु भयो ।