विराटनगर, ११ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समृद्धिको आधार पर्यटन र पूर्वाधार रहेको बताउनु भएको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशद्वारा आज विराटनगरमा आयोजित ‘पर्यटन वर्ष २०८२ घोषणा सभा’ को उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
मुख्यमन्त्री कार्की कोशी प्रदेशको सीमासँग जोडिएका दुई ठूला देश भारत र चीनका पर्यटक नेपाल भित्र्याउन सके राष्ट्रिय पुँजीको निर्माण हुने भन्दै विसं २०८२ लाई कोशी प्रदेश सरकारले पर्यटन वर्षको रुपमा लिएको र यसका लागि आज घोषणा भएको जानकारी दिनुभयो । उहाँले नेपालको कुल ग्राहस्त उत्पादनमा पर्यटन क्षेत्रको पनि उल्लेखनीय योगदान रहने भएकाले सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै कोशी प्रदेशमा विश्वकै सबै भन्दा अग्लो चुचुरो सगरमाथा जस्तै अन्य हिमालहरु पनि रहेकाले पर्यटकको रोजाईमा कोशी प्रदेश अब्बल हुने धारणा राख्नुभयो ।
हिमाल, पहाड र तराईको समीश्रण रहेको यो प्रदेश धार्मिक, भौगौलिक, सांस्कृतिक र सम्पदाका हिसाबले पनि महत्वपूर्ण भएकाले सरकारले यसलाई अवसरको रुपमा लिएको भन्दै मुख्यमन्त्री कार्कीले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको साथ र सहयोगको अपेक्षा राख्नुभयो । उहाँले सीमा क्षेत्रमै सुरक्षा जाँचको प्रबन्ध मिलाई पर्यटकको अवागमनमा कुनै असर नपर्ने गरी योजना र नीति बनाएको जानकारी दिँदै प्रदेशमा पर्यटक भित्र्याउन नीतिगत, कार्यगत र व्यवस्थागत सुदृढ गर्ने जानकारी दिनुभयो ।
भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले पर्यटनसँगै पूवाधार विकास गरेर सरकार अघि बढ्ने विश्वास व्यक्त्त गर्दै प्राकृतिक सौन्दर्यता, धामिक स्थल, भौगोलिक एवं सांस्कृतिक विविधताले भरिपूर्ण यो प्रदेश पर्यटकको लागि गन्तव्य हुने आधार हुन भत्रुभयो । पर्यटन, वन तथा वातावरण सचिव विशाल घिमिरेले प्राकृतिक सौन्दर्यता, भूगोल , धार्मिक र संस्कृतिले भरिपूर्ण यो प्रदेशमा पर्यटन भित्र्याउन सरकारले उचित नीति र पूर्वाधार तयार गर्नु पर्ने सुझाव दिनुभयो ।
नेपाल उद्योग वाणिज्य संघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले पर्यटन वर्ष २०८२ लाई सफल बनाउन निजी क्षेत्र सरकारसँग हातेमालो गर्न तयार रहेको जनाउनुभयो । कार्यक्रममा वटुकहरुद्वारा स्वस्तिक वाचन र पर्यटन गीत सहितको सो कार्यक्रम आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी , सामाजिक विकास मन्त्री पाँचकर्ण राई सहित विभित्र मन्त्रालयका सचिव लगायतको सहभागिता रहेको थियो ।