नवनिर्वाचित संसदीय समितिका सभापतिहरुलाई मुख्यमन्त्री कार्कीद्वारा बधाई ज्ञापन

विराटनगर २ असाेज । कोशी प्रदेशका नवनिर्वाचित प्रदेश संसदीय समितिका सभापतिहरुलाई मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बधाई ज्ञापन गर्नु भएको छ ।

लामो समयदेखि सभापति चयन हुन नसकिरहेको अवस्थामा मुख्यमन्त्री कार्कीकै पहलमा समितिका सभापतिहरु चयन भएका थिए ।

७ समिति मध्ये ३ समितिमा नेपाली काँग्रेस, ३ मा नेकपा एमाले र एउटा समितिमा माओवादी केन्द्रले सभापति लिएको छ । गत २८ गते समितिको सभापतिमा निर्वाचित भएका हुन् । त्यस्तै एमालेका सचेतक ललिता चौधरीलाई उहाँले बधाई दिनुभयो । उहाँहरुलाई बधाई दिँदै मुख्यमन्त्री कार्कीले सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।

संसदीय समितिमा एमालेको तर्फबाट प्राकृतिक स्रोत तथा पुर्वाधार समितिमा होमबहादुर थापा, न्याय प्रशासन तथा विधायन समितिको सभापतिमा कमला दर्नाल र उद्योग, पर्यटन तथा वातावरण समितिको सभापतिमा रामदेव यादव निर्वाचित हुनु भएको छ ।

नेपाली काँग्रेसबाट सामाजिक विकास समिति सभापतिमा गयानन्द मण्डल, सुशासन तथा योजना समितिको सभापतिमा खगेश्वरी पौडेल र अर्थ समितिको सभापतिमा विनोद राई निर्वाचित हुनु भएको छ ।

सार्वजनिक लेखा समितिको सभापतिमा नेकपा माओवादी केन्द्रबाट राजन किराँती निर्वाचित हुनु भएको छ ।

दलहरुबीचको सहमतिमा सबै समिति सभापतिहरु सर्वसम्मत निर्वाचित हुनु भएको हो ।