राधाकृष्ण रथयात्रा कोशी प्रदेशको पहिचान : मुख्यमन्त्री कार्की

विराटनगर, ११ भदौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राधाकृष्ण रथयात्रा प्रदेशको पहिचान बनेको बताउनु भएको छ । भगवान राधाकृष्ण रथयात्राको आज अपरान्ह शुभारम्भ गर्दै उहाँले रथयात्रा यस क्षेत्रको परिचय र पहिचान बनेको धारणा राख्नु भयो ।

मुख्यमन्त्री कार्कीले भन्नु भयो , ‘ रथयात्रा सिङ्गो नेपाल राष्ट्रको पहिचान बन्ने क्रममा रहेकोमा राधाकृष्ण रथयात्रा परिवारलाई बधाई एवं शुभकामना दिनु भयो ।’ उहाँले सनातन धर्म संस्कृतिको रक्षा गर्नु पर्छ भन्दै मुलुकमा वसोवास गर्ने सम्पूर्ण जातजातिका धर्म संस्कृति हाम्रो सम्पत्ति भएकोले यसको संरक्षण र प्रष्फुटन गराउन सदैव कार्य गर्ने बताउनु भयो ।

मुख्यमन्त्री कार्की कृष्णजन्मष्टमी र रथयात्रा पर्व एउटा जाति र सम्प्रदायको नभएर सम्पूर्ण नेपाली र विश्वका मानवजातिको संस्कृति र पहिचान बनेको विचार राख्नु भयो । उहाँले यो रथयात्रा विश्व शान्ति , मानव जातिको हित र प्राणीजगतको रक्षाका लागि भएको चर्चा गर्दै विश्वका देखा परेका जलवायु परिवर्तन समस्या समाधान, पृथ्वीको रक्षा र मानवजातिको पक्षमा रहेको बताउनु भयो । उहाँले प्रदेश सरकार राधाकृष्ण रथ, मन्दिर र धर्मशालाको भौतिक पूर्वाधार निर्माणमा साथ र सहयोग गर्ने प्रतिवद्धता   व्यक्त्त गर्नुभयो ।

विराटनगर महानगरपालिकका प्रमुख नागेश कोइरालाले भगवान राधाकृष्णको नयाँ रथ बनाउने आवश्यक सहयोग उपलव्ध गराउने बताउनु भयो । रथयात्रा आयोजक समितिका संयोजक कैलाश रेग्मीले ९३ औँ संस्करण यो रथयात्रा एशियाको दोस्रो ठूलो भएको जानकारी दिनु भयो ।