विराटनगर १५ साउन । नेत्रहिन यूवा संघ मोरङले राजनीतिक तथा सार्वजनिक जीवनमा सहभागिता र प्रतिनिधित्वको अधिकारबारे सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
राजनीतिक दलमा अपाङ्गता भएको व्यक्तिको सार्थक एवं प्रभावकारी सहभागिता तथा प्रतिनिधित्व हासिल गर्ने, पहुँचयुक्त निर्वाचन प्रणाली मार्फत मताधिकार उपयोग गर्ने र राज्यका निकायमा अपाङ्गता भएका समुदायको उचित प्रतिनिधित्व सुनिश्चित गर्न संघले माग गरेको छ ।
नेत्रहिन यूवा संघ मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै सरोकारवाला पक्ष समक्ष २० बुँदे ध्यानाकर्षण गराएको छ । संघका कार्यक्रम अधिकृत जीवन आचार्यले अपाङ्गता भएका व्यक्तिलाई राज्यले भूमिका दिन नसकेको गुनासो गर्नुभयो । उहाँले अपाङ्गता भएका व्यक्तिका साना साना सवालहरुमा पनि राज्यको ध्यान पुग्न नसकेको उहाँले बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुलाई दयादृष्टिकोणबाट नहेर्न उहाँको आग्रह छ । संविधानमा भएको व्यवस्था अनुशार काम हुनुपर्ने उहाँले बताउनुभयो ।
नेत्रहिन यूवा संघ मोरङले अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता तथा प्रतिनिधित्व संकुचित गर्ने गरि रहेका मौजुदा निर्वाचन संवन्धि कानुनमा समेत तत्काल संशोधन गर्न माग गरिएको छ ।
निर्वाचन ऐन २०७४ ( दफा १३) (ञ) ले मानसिक सन्तुलन ठिक नभएको भन्ने शब्दावली थप परिभाषित नगरी त्यस्ता व्यक्तिलाई उम्मेदवार हुनबाट बञ्चित गरेकाले संशोधन गर्न माग गरिएको संघका अध्यक्ष दुर्गानाथ योगीले बताउनुभयो । उहाँले राजनीतिक सहभागिता तथा प्रतिनिधित्व संकुचित गर्ने गरि रहेका मौजुदा निर्वाचन संवन्धि कानुन संशोधनका लागि १३ बुँदे ध्यानाकर्षण गराएको बताउनुभयो ।