विराटनगर ३० असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशलाई खेलकुदको महत्वपूर्ण गन्तव्यको रुपमा विकास गर्ने बताउनु भएको छ ।
प्रदेश खेलकुद बिकास बोर्डद्वारा आज विराटनगरमा आयोजित अन्तरप्रदेश राष्ट्रिय खेलकुद र राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक प्राप्त गर्ने खेलाडी, प्रशिक्षक, व्यवस्थापक र खेल क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विशिष्ट व्यक्तिहरुगरी दुई सय जनालाई नगद सहित सम्मान गर्दै प्रदेशलाई आगामी तीन बर्षभित्र खेलकुदको पहिलो प्राथमिकता रुपमा स्थापित गर्न पूर्वाधार निर्माण, प्रशिक्षणको व्यवस्था गर्न यसमा सबैको साथ र सहयोग आवश्यक रहेको बिचार राख्नु भयो ।
मुख्यमन्त्री कार्कीले चाँडै प्रदेश खेलकुद परिषद निर्माण गर्ने जानकारी दिँदै यसको माध्यमवाट खेलकुदको समग्र विकासको प्रयास गरिने बताउनु भयो । उहाँले खेलकुद विकास बोर्ड खेलकुद क्षेत्रमा क्रियाशिल रहेको चर्चा गर्दै प्रदेशमा खेलकुदका संरचना निर्माणको क्रममा झापामा आदिवासी रङ्शाला निर्माण चाँडै सम्पन्न गरी अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा आयोजना गर्ने बताउनु भयो ।
मुख्यमन्त्री कार्कीले सङ्घीय सरकारको मातहतमा विराटनगरको बैजनाथपुरमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट रङ्शालालाई प्रदेशमा ल्याउन पहिल शुरु गरेको बताउँदै यस क्षेत्रमा आवश्यक रहेको इन्डोर खेलकुद आयोजना गर्न आवश्यक संचारना विराटनग आसपासमा निर्माण गर्ने जानकारी दिनु भयो । उहाँले सरकार प्रदेशको खेलकुद नीतिलाई परिमार्जन गरी समृद्धि बनाई खेलकुदको विकासमा गुणात्मक फड्को मार्ने तयारीमा लागेको बताउनु भयो ।
प्रदेश खेलकुद विकास वोर्डका सदस्य सचिव कृष्ण बस्नेत( पर्शुराम )ले खेलाडीलाई गौरवको रुपमा स्थापित गर्न सम्मान कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । कार्यक्रममासात जना सञ्चारकर्मीहरुलाई नगद सहित पुरस्कृत गरिएको थियो ।