विराटनगर, १८ वैशाख । जहाज दुर्घटना भएका बेला गरिने उद्धारको अभ्यास विराटनगर विमानस्थलमा आज गरिएको छ । जहाज दुर्घटना भएको देखाएर गरिएको अभ्यासले घटनाका बेला अपनाउनुपर्ने सबै उपाय र गर्नुपर्ने उद्धार लगायतका सबै कामको यथार्थ चित्रण गरेको थियो ।
विराटनगरबाट काठमाडौंका लागि ६८ यात्रु बोकेर उडेको एक्सरसाइज एयर–००४ कल साइन भएको जहाज चरासँग ठोक्किएपछि पुनः विराटनगरमै आपतकालीन अवतरण गराउनु पर्दा दुुर्घटना भएर जहाजमा आगो लागेको र धुवाँको मुस्लो छुटेको देखाइएको थियो । त्यसअघि नै विमानस्थलले जहाज आपतकालीन अवतरण गराउँदा आउन सक्ने समस्यालाई मध्यनजर गर्दै सबै तयारी गरेको थियो ।
काल्पनीक जहाज दुर्घटनामा ४ जना यात्रुको मृत्यु भएको र ५ जना गम्भीर घाइते तथा अन्य सामान्य घाइते भएको देखाइएको विराटनगर विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले जानकारी दिनु भयो । घाइतेहरुलाई उपचारका लागि एम्बुलेन्समा राखेर अस्पताल लगिएको र शव पोस्टमार्टमका लागि पठाइएको उहाँको भनाइ छ । विमानस्थलका प्रमुख उत्सवराज खरेलले जहाज दुर्घटना भएका बेलाको सम्भावित क्षति कम गर्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उद्धारको अभ्यास गरिएको बताउनु भयो ।
उद्धार अभ्यासका क्रममा आधा दर्जनभन्दा बढी एम्बुलेन्स, दमकल, ठूलो संख्यामा सुरक्षाकर्मी, रेडक्रसकर्मी, स्वास्थ्यकर्मी र एयरलाइन्सका कर्मचारी परिचालन गरिएको थियो । साइरन बजाउँदै दमकल र एम्बुलेन्स दौडदा वरपर त्रास फैलिएको थियो । दुर्घटनाबाट हुने सम्भावित क्षति न्यूनीकरणका लागि प्रत्येक २ वर्षमा यस्तो अभ्यास गर्ने गरिएको खरेलको भनाइ छ । उहाँका अनुसार विमानस्थलभित्र कुनै जहाज दुर्घटना भइहालेको अवस्थामा गर्नुपर्ने सम्पूर्ण सावधानीसहितको अभ्यास गर्ने गरिन्छ ।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले विमानस्थलभित्र जहाज दुर्घटना भएको खण्डमा मानवीय र भौतिक क्षति न्यूनीकरण तयारीको स्तर वृद्धि गर्न, उद्धारलाई प्रभावकारी बनाउन तथा उद्धारकर्मीको क्षमता बढाउन उद्धार अभ्यासले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।
विमानस्थल संवेदनशील क्षेत्र भएकोले कुनै दुर्घटना भइहालेको अवस्थामा सबैको समन्वयमा त्यसलाई कसरी तत्काल उद्धार र घाइतेको उपचार गर्ने भन्ने सिकाइको लागि अभ्यास महत्वपूर्ण रहेको उहाँको भनाइ छ ।