विराटनगर २० जेठ । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८१र०८२ को वार्षिक नीति तथा कार्यक्रम आइतबारको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत भएको छ । प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीका अनुसार प्रदेश सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रमलाई स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो ।
स्वीकृत भएको नीति तथा कार्यक्रम सोमबारको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङले प्रस्तुत गर्ने जनाइएको छ । प्रदेशसभाको चालु अधिवेशनको बैठकलाई सम्बोधन गर्न प्रदेश प्रमुखलाई अनुरोध गर्ने निर्णय भएको मन्त्री अधिकारीले बताए । त्यसका लागि दिउँसो ४ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।
प्रदेश प्रमुखले गर्ने सम्बोधनको व्यवस्था मिलाउन प्रदेशसभालाई अनुरोध गर्ने निर्णय समेत भएको जानकारी अधिकारीले दिनुभयो । उनका अनुसार महालेखा परीक्षकको छैटौँ वार्षिक प्रतिवेदन २०८१ लाई प्रदेशसभामा पेस गर्ने स्वीकृति मन्त्रिपरिषद् बैठकले प्रदान गरेको छ । त्यस्तै, युवा तथा खेलकुदतर्फको प्रस्तावमा आधारित खेल पूर्वाधार निर्माण एवं स्तरोन्नति कार्यक्रम सञ्चालनका लागि स्थानीय तहमा वित्तीय हस्तान्तरण गर्ने निर्णय मन्त्रिपरिषद् बैठकमा भएको छ ।
खेल पूर्वाधार निर्माण तथा स्तरोन्नति कार्यक्रम सञ्चालनका लागि सहरी विकास तथा भवन कार्यालयलाई बजेट पठाउने निर्णय २०८० फागुन २३ गतेको मन्त्रिपरिषद् बैठकले गरेको थियो । त्यसलाई संशोधन गर्दै आइतबारको मन्त्रिपरिषद् बैठकले स्थानीय तहलाई वित्तीय हस्तान्तरण गरी योजनाको कार्यान्वयन गर्ने व्यवस्था मिलाएको मन्त्री अधिकारीले बताउनुभयो ।