कोशी प्रदेश सरकार अब फेरवदल हुँदैन : मुख्यमन्त्री कार्की

विराटनगर ४ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार अव फेरबदल नहुने बताउनु भएको छ ।

आज नवनियुक्त मन्त्रीहरुको सपथग्रहण पछि सञ्चारकर्मीसँगको कुराकानीमा मुख्यमन्त्री कार्कीले अवको पुरै अवधि जाने दावी गर्नुभयो । उहाँले भन्नुभयो,‘ फागुनमा बनेको नयाँ शक्ति सन्तुलन अब टुट्दैन ।’

गत वैशाख २७ गते नियुक्त मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले जनताले अनुभूति गर्ने गरिको आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो,‘ सुशासन अभिव्यक्त हुनेगरिको कार्य गरिने छ ।’ प्रदेश सरकार सहमति र सहकार्यमा सञ्चालन गरिने उहाँले बताउनुभयो । उहाँले रिक्त राखिएको एक मन्त्रालय शक्ति सन्तुलनमा सहभागि भएका दलका लागि भएको बताउनुभयो ।

कोशी प्रदेशमा रहेका ९ मन्त्रालय मध्ये उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी रहेको छ । बाँकी ८ वटा मन्त्रालयमा मन्त्रीहरु नियुक्त भएका छन् । मुख्यमन्त्री कार्कीले आज पाँच मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्नु भएको छ । यसअघि विना विभागिय मन्त्री रहेका दुई जनालाई जिम्मेवारी दिईएको छ ।

यसअघि नियुक्त राम रानालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र गणेश उप्रेतीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिईएको छ । राना एमाले र उप्रेती माओवादी केन्द्रका रहनु भएको छ ।

दोश्रो पटक गरिएको मन्त्रिपरिषद् विस्तारमा सामाजिक विकास मन्त्रीमा पाँचकर्ण राई, ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रीमा एकराज कार्की, आन्तरिक मामिला तथा योजना मन्त्रीमा लिलावल्लभ अधिकारी नियुक्त हुनु भएको थियो । उहाँहरू एमालेबाट हुनुहुन्छ । स्वास्थ्य मन्त्रीमा राजेन्द्र कार्की र पर्यटन, वन तथा वातावरण मन्त्रीमा नारायणबहादुर मगर मन्त्री हुनु भएको छ । उहाँहरु मओवादी केन्द्रका हुनुहुन्छ ।

माओवादी केन्द्रबाट वन्दना झाँगडले पर्यटन, वन तथा वातावरण राज्यमन्त्री र एमालेबाट सिर्जना राई विनाविभागीय राज्य मन्त्री बन्नु भएको छ ।