विराटनगर ३० वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि सोमबार विश्वासको मत लिने हुनु भएको छ ।
वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोमबार विश्वासको मत लिने हुनु भएको हो । मुख्यमन्त्रीमा नियुक्त भएकै दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेशसभाको बर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गराउनु भएको थियो ।
सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले ३१ वैशाखको विहान ११ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गर्नुभएको हो । विश्वासको मत सोमबार लिने गरि मुख्यमन्त्री कार्कीले प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराइसक्नु भएको छ ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार २७ असोजमा नियुक्त मुख्यमन्त्री केदार कार्कीले साझेदार दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख खापुङले उनी पदमुक्त भएको निष्कर्ष निकालेर २६ वैशाखमा नयाँ सरकार गठन आह्वान गर्नुभएको थियो ।
२७ वैशाखमा कार्कीले एमाले र माओवादीका गरी ५२ सांसदको समर्थन पेश गरेपछि त्यसै दिन प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुभएको थियो । त्यसै दिन मुख्यमन्त्री कार्कीले एमाले र माओवादीका एक–एक नेतालाई मन्त्रिपरिषदमा सहभागी गराइसकेका छन् । विश्वासको मत लिएपछि मन्त्रिपरिषद विस्तार गर्ने उहाँको तयारी छ ।