विराटनगर २२ वैशाख । दुवै मिर्गाैला फेल भएपछि सुनसरी इटहरीका पत्रकार पिबी दियाली काठमाडौंको वीर अस्पतालमा उपचार गरिरहनु भएको छ । नियमित डायलसिस गर्नुपर्ने भएपछि उहाँलाई आर्थिक समस्याले सताएको छ ।
आज इटहरीका सक्रिय पत्रकार प्रेस यूनियन सुनसरीका पूर्व अध्यक्ष पवन अधिकारीले दियालीलाई भेटेर १५ हजार नगद हस्तान्तरण गर्नुभएको छ । त्यस्तै हेटौंडाका व्यवसायी गोपाल थापाले आर्थिक सहयोग संकलनका लागि अभियान संचालन गर्ने प्रतिबद्धता जनाउनु भएको छ । उपचारका लागि सरकार, सामाजिक सङ्घ–संस्था र दाताहरूसँग सहयोगका लागि याचना गरेपनि त्यो प्रभावकारी नभएको उहाँले बताउनुभयो । पत्रकार दियालीले पत्रकार महासंघले सहयोग संकलनका लागि अभियान संचालन गरिदिन माग गर्नुभएको छ ।
इटहरीमा बसेर २९ वर्षदेखि सक्रिय पत्रकारिता गर्दै आएका पत्रकार दियालीले आफनो दुवै मिर्गाैला खराब भएको र उपचारका लागि आफूसँग आर्थिक अवस्था कमजोर बनेकाले बाध्य भएर सहयोगको याचना गर्नुपरेको बताउनुभयो । दियालीका अनुसार मिर्गाैला फेर्नका लागि मृगौलादाता जुटेपनि दाता र विरामी दुवैको खर्च जुटाउन झनै कठिन भएको छ ।
मिर्गाैला फेरेर स्वस्थ्य रहन लगभग ६० लाखमाथि खर्च हुने अनुमान छ ।