कोशी प्रदेशको खेलकुद विकास बोर्डको सदस्य सचिवमा बस्नेतको पदबहाली

विराटनगर २० वैशाख । कोशी प्रदेशको खेलकुद विकास बोर्डको सदस्य सचिवमा कृष्ण बस्नेत(पर्शुराम)ले आज पदबहाली गर्नुभएको छ ।

उच्च अदालत विराटनगरले लामो समयपछिको मुद्दामा सोमबार बस्नेतको पक्षमा रिट जारी गरेपपछि आज बोर्डको कार्यालयमा पुगी उहाँले पदबहाली गर्नुभएको हो । पदबहाली गर्दै उहाँले ढिलैपनि आफुले न्याय पाएको बताउनुभयो ।

प्रदेश सरकारको २०७८ चैत २१ को मन्त्रिपरिषद्को बैठकले बस्नेतलाई फदमुक्त गर्दै ओखलढुंगाका हंशराज वाग्लेलाई सदस्य सचिवमा नियुक्त गरेको थियो । सो निर्णयविरुद्ध बस्नेतले उच्च अदालतमा अन्तरिम आदेशको मागसहित मुद्दा दायर गर्नुभएको थियो ।

अदालतको आदेशसँगै हालका सदस्यसचिव वाग्ले पदमुक्त हुनु भएको छ । बस्नेतलाई तत्कालीन मुख्यमन्त्री भीम आचार्यले २०७८ असोज २४ गते बोर्डको सदस्य सचिवमा नियुक्त गर्नुभएको थियो ।