सदस्यको टुङ्गो लगाएर मात्रै अधिवेशन गर्न प्रेस यूनियनको माग

विराटनगर २१ चैत । प्रेस युनियन मोरङले आसन्न नेपाल पत्रकार महासंघको जिल्ला, प्रदेश र केन्द्रीय समितिको अधिवेशनहरु साधारण सदस्यहरुको टुङ्गो लगाएरमात्रै गर्न माग गरेको छ ।

नेपाल प्रेस युनियनको चैत १७ गते सुनसरीको इटहरीमा सम्पन्न केन्द्रीय समितिको निर्णय अनुसार सदस्यताको शुद्धिकरण टुंगो नलगाई, नयाँ मतदाता नामावली समेतको निर्णयनै नगरि जिल्ला, प्रदेश र केन्द्रको अधिवेशन आव्हान गरेकाले पहिले सदस्यताको टुंगो लागेपछि मात्र अधिवेशन गर्न र गराउन हुन निर्णय भएको हुदाँ सोही अनुसार गर्न प्रेस युनियन मोरङले नेपाल पत्रकार महासंघ मोरङ शाखा मार्फत केन्द्रीय समिति र प्रदेश समितिको ध्यानाकर्षण गराएको हो ।

मोरङ शाखाका कार्यवहाक अध्यक्ष तारा आचार्यलाई ज्ञापन पत्र बुझाउँदै प्रेस युनियन मोरङका अध्यक्ष बेदराज पौडेलले नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिले मोरङ सहित कोशी प्रदेशका १४ जिल्लामा अधिवेशनको मिति तोकेको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाउनु भएको छ ।

ध्यानाकर्षण पत्रमा भनिएको छ,‘ कोशी प्रदेश समिति र नेपाल पत्रकार महासंघ जिल्ला शाखालाई ध्यानाकर्षण गराउदै पहिले पत्रकार महासंघमा शुद्धिकरणमा देखिएका समस्या समाधान गरेर मात्र अधिवेशनको मिति तय होस भन्ने माग गर्दछौं ।’

महासंघका विभिन्न जिल्ला शाखाहरुमा उत्पन्न विवादलाई समेत केन्द्रिय समितिले निरुपण गर्नेछ भन्ने अपेक्षा गरिएको ध्यानाकर्षणन पत्रमा उल्लेख छ । नेपाल प्रेस यूनियनको आग्रहलाई कमजोरी नठान्न पनि सबैमा आग्रह गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।