विराटनगर १४ चैत । विराटनगरको शहीद रङ्शालामा चैत १५ गते(भोलिदेखि) हुने रात्रिकालिन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताको आठौं संस्करणको सम्पूर्ण तयारी पुरा भएको छ ।
प्रतियोगिताको मैदान सम्याउने, रङशाला , प्याराफिट मर्मत , रङरोगन जस्ता कार्य सम्पन्न भएको विराट गोल्ड कप ट्रष्टद्वारा आज प्रतियोगिता आयोजना स्थल आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा भारतको दुई, भुटानबाट एक र नेपाली ए डिभिजनको सात क्लब गरि १० क्लबको सहभागिता रहने ट्रष्टका अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिनु भयो ।
रात्रीकालिन समयमा हुने गोल्डकपमा नेपालका शहिद स्मारक ए डिभिजन विजेता चर्च ब्वाईज, विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको टोली, न्यूरोड टिम, मच्छिन्द्र फुटबल क्लब र सांग्रिला मोरङ एफए रहने उहाँले बताउनु भयो । यस्तै भारतको कोलकाताबाट साउर्थन समिति फुटबल क्लब, सिक्किम ड्रागन फुटबल क्लब र भुटानको थिम्पुबाट आरटिसी फुटबल क्लबले गोल्डकपमा प्रतिस्पर्धा गर्ने छन् ।
गोल्डकप विजेता टोलीले ट्रफीसहित रु ११ लाख, उपविजेताले पाँच लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । ‘हाम्रो शान विराटनगरको पहिचान विराट गोल्डकप’ नाराका सहित प्रतियोगिता सम्पन्न गर्न अनुमानित रु १ करोड १८ लाख ४३ हजार खर्च लाग्ने टष्ट्रका अध्यक्ष शाहीले जानकारी दिनु भयो ।
भोलिको को उद्घाटन खेल नेपाल पुलिस क्लव काठमाण्डौं र रोयल थिम्पु एफसी भूटान बीच हुने छ । गोल्डकपको अघिल्लो संस्करणमा विराटनगर सिटी फुटबल क्लबले उपाधि जितेको थियो ।
२०१८ सालबाट महेन्द्र गोल्डकपको नाममा आयोजना हुँदै आएको गोल्डकप २०६८ बाट विराट गोल्डकपमा परिवर्तन भएको थियो । तत्कालीन महेन्द्र गोल्डकपमा विभागीय पुलिस क्लबले तीन पटक उपाधि चुमिसकेको छ । भुटानको थिम्पु एघारले २०३१ सालमा गोल्डकपको उपाधि चुमेको थियो ।