विराटनगर, १३ वैशाख । विराटनगर महानगरपालिकाका एमाले उम्मेदवारहरुले विकासको समग्र विकासको योजना एमालेसँग मात्रै रहेको बताएका छन । ५ वर्षमा नेपाली काँग्रेसबाट विजयी उम्मेदवारले नगरको विकासमा उल्लेखनिय कार्य नगरेको भन्दै आगामी ५ वर्षमा विराटनगरलाई गति दिईने उनीहरुको दावी छ ।
महानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारहरुसँग प्रेस चौतारी मोरङले आज विराटनगर आयोजना गरेको साक्षात्कार कार्यक्रममा मेयरका उम्मेदवार सागर थापा र उपमेयर उम्मेदवार शिल्पा निराला कार्कीले सो दावी गर्नुभएको हो ।
मेयरको उम्मेदवार थापाले एमाले महानगरवासीको लागि आर्थिक सम्वृद्धिको योजनासहित आएको दाबी गर्नुभयो । उहाँले करको दायरालाई फराकिलो बनाउदै विराटनगरको औधोगिक सहरको पहिचानलाई पूर्ण स्थापित गराउने योजना ल्याउने बताउनुभयो । थापाले करको दायरा फराकिलो बनाएर महानगरलाई आयआर्जनको बाटोमा लाने देखि बेरोजगार जनशक्तिलाई रोजगारीको तालिम दिएर लघु–उद्यम लाई प्रोत्साहन गरिने बताउनुभयो ।
प्रदेशको स्थायी राजधानीका लागि जग्गा उपलब्ध गराउने, प्रदेश र संघसँगको बारम्बार समन्वयमा योजना, भएका स्वास्थ्य र शिक्षाका संरचना प्रयोगमा विशेष जोड, उद्यमशीलताको विकास र रोजगारी, अतिविपन्न पहिचान जस्ता कार्यक्रम अगाडी सारिने उहाँले प्रतिवद्धता जनाउनुभयो ।
उपमेयरकी उम्मेदवार शिल्पा निराला कार्कीले महिला सशक्तिकरणका कार्यक्रम, सचेतना, सुविधा र रोजगारीलाई प्राथमिकतामा राखिने बताउनुभयो । उहाँले विराटनगर महानगर क्षेत्रमा आवश्यक मात्रामा शौचालय, शौचालयमा महिलाले प्रयोग गर्ने प्याड र चेन्जिङ कक्ष, महानगर क्षेत्रका विभिन्न सार्वजनिक स्थानमा पानीका लागि सय धारा, बालबालिकाको शिक्षा, विद्यालयमा छात्रा योजना, बालिका शिक्षाका लागि प्राथमिकता र सुविधा, अति भीड हुने सार्वजानिक सरोकारको कार्यालयमा ज्येष्ठ नागरिक, गर्भवती महिला र मातृशिशु कक्ष स्थापना गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।