विराटनगर २८ फागुन । उपचारका लागि विराट मेडिकल कलेज टिचिङ हस्पिटल (विराट क्यान्सर इन्स्टिच्युुट) मा आउने क्यान्सरका विरामीहरुलाई यती एअरलाइन्सले निःशुल्क हवाई टिकट प्रदान गर्ने भएको छ ।
यती एअरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका विरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याइएको यती एअरलाइन्सका चिफ बिजनेस अफिसर युवराज विष्टले जानकारी दिनुभयो । विष्टले भन्नुभयो, ‘यस सुविधाले क्यान्सरसँग लडिरहनुभएका हरेक विरामीलाई थप उत्प्रेरणा मिल्ने विश्वास लिएका छौं ।
निःशुल्कहवाई टिकट पूर्वमा मात्र नभई नेपालभरिकै क्यान्सरका विरामीहरुले उपभोग गर्न पाउनुहुनेछ । ’ निःशुल्क टिकट लिनका लागि विरामीले आवश्यक कागजात सहित विराट क्यान्सर इन्स्टिच्युटमा सम्पर्क गर्नुपर्नेछ । अस्पतालका विशेषज्ञ चिकित्सकहरुले कागजातहरुका आधारमा क्यान्सरको विरामी भएको प्रमाणपत्र/परिचयपत्र उपलब्ध गराउनुहुने र उपचारका लागि आउनुपूर्व टिकट बुक गर्न मिल्ने व्यवस्था मिलाइएको विराट क्यान्सर इन्स्टिच्युटका उपाध्यक्ष डा. निकिता कार्कीले जानकारी दिनुभयो । त्यस्तै, यात्रुले विमानस्थलमा चेक–इनगर्दा यती एअरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको विरामी प्रमाणित गरिएको परिचयपत्र पेश गर्नुपर्ने एअरलाइन्स जानकारी दिएको छ ।
नेपालभरिकै क्यान्सर विरामीहरुलाई हवाई टिकट निःशुल्क उपलब्ध गराउने गरी यती एअरलाइन्स र विराट क्यान्सर इन्स्टिच्युटबीच फाल्गुन १७ गते सम्झौता–पत्रमा हस्ताक्षर भएको थियो ।
अस्पतालमा स्त्री क्यान्सर रोग विशेषज्ञ प्रा.डा. ज्ञानेन्द्रमान सिंह कार्की, डा. मोना प्रियादर्शीनी, मेडिकल अंकोलोजिष्ट डा. सुलभ सापकोटा, अंको सर्जन डा. शिवराज शर्मा, डा.नरेन्द्र पण्डित, पेडियाट्रिक अंको सर्जन डा. हिरामणि पाठक, हेड एण्ड नेक अन्को सर्जन डा.राहुत महतो, अक्युलर अन्कोलोजिष्ट डा.प्रेरणा अज्र्याल काफ्ले, क्लिनिकल अंकोलोजिष्टद्वय डा. अस्मिता रायमाझी, डा. विवेक घोष, अंको रेडियोलोजिष्ट डा. मनिस पाठक, डा. भानुप्रताप शाह लगायतका चिकित्सकहरुको समूहले सेवाप्रदानगर्दै आइरहनु भएको अस्पतालले जनाएको छ ।