द्विपक्षीय व्यापार विस्तारबारे उद्योग संगठन मोरङ र बंगलादेशका राजदुत चौधरीवीच छलफल

विराटनगर २७ फागुन । द्विपक्षीय व्यापार विस्तारका सम्वन्धमा उद्योग संगठन मोरङ र बंगलादेशका राजदुतवीच आज छलफल गरिएको छ ।

उद्योग संगठन मोरङले बंगलादेश र नेपाल बिच हुनसक्ने व्यवसायीक तथा व्यापारिक सम्बन्ध, उद्योग व्यवसायको प्रवर्धन र विकासका साथै पर्यटन लगायतका क्षेत्रमा सहकार्य तथा साझेदारीको सम्भावनाका विषयमा नेपालका लागि बंगलादेशका राजदुत सलाहउद्दिन नोमन चौधरीसंग छलफल गरिएको हो ।

संगठनको सचिवालयमा भएको छलफलमा अध्यक्ष राकेश सुरानाले नेपाल र बंगलादेश बीचको व्यापारिक सम्वन्ध अभिवृद्धिका लागि नेपाली उत्पादनले बंगलादेश निर्यातमा भोग्दै आएको समस्याअवगत गराउदै समाधानका लागि सहजीकरण गर्न राजदुत समक्ष आग्रह गर्नुभयो । अध्यक्ष सुरानाले बंगलादेश स्थित व्यावसायीक संस्था तथा औद्योगिक पक्षहरुसंग संस्थागत सम्वन्ध विस्तारमा जोड दिदै उनले संगठनले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय ब्यापार प्रवद्र्धन र्यालीका साथै नेपालर बंगलादेशका उद्योगीहरु बिच सम्बन्ध बिस्तारका लागीआवश्यक सहजीकरण गर्न समेत अनुरोध गर्नुभयो ।

बंगलादेशका राजदुत चौधरीले नेपाल र बंगलादेशका बिच धेरै क्षेत्रहरुमा सहकार्यको प्रचुर सम्भावना रहेकोले दुई मुलकका औद्योगिक तथा व्यवसायीहरु बिचको सम्वन्ध विस्तारका लागि दुताबास निरन्तर सहजिकरण गर्न तत्पर रहेको बताउनुभयो । राजदुत चौधरीले दिपक्षीय व्यापारिक हितका लागि संगठनले अन्तर्राष्ट्रिय स्तरको र्याली आयोजना गर्न लागेकोमा खुशी व्यक्त गर्दै बंगलादेश दुतावासको तर्फबाट आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा उद्योग संगठन मोरङका पदाधिकारीहरु, कार्यसमिति सदस्यहरु र नेपालका लागि बंगलादेश दुतावासका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।