विराटनगर २५ फागुन । तेस्रो संस्करण इक्युवालिटि कप महिला क्रिकेट प्रतियोगिताको उपाधि घरेलु टोली मोरङले जितेको छ ।
नेपाल क्रिकेट फाउण्डेसनले मोरङ क्रिकेट संघको प्राविधिक सहयोगमा विराटनगर–६ मा रहेको मेरिवोन विराटनगर ज्वाला क्रिकेट मैदानमा आयोजना गरेको प्रतियोगिता अन्र्तगत आज भएको फाइनल खेलमा इलामलाई १ सय रनले पराजित गर्दै मोरङले उपाधि जितेको हो ।
टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित २० ओभर ३ विकेट गुमाई १ सय ५३ रनको विशाल स्कोर बनाएको थियो । मोरङकी प्लेयर अफ फाइनल सानु राजवंशीले ५९ बलमा ९ चौका प्रहार गर्दै ७२ रन बनाउँदा प्रेरणा राना मगरले नटआउट ३१ रनको योगदान दिइन् । १ सय ५४ रनको विशाल लक्ष्य पाएको इलामले निर्धारित ओभरमा ५ विकेट गुमाई ५३ रन मात्र बनाउँन सक्यो ।
इलामकी यमुना राईले सर्वाधिक नटआउट १० रनको योगदान योगदान दिइन् । मोरङकी चाँदनी यादवले ३ विकेट लिँदा कृतिषा धामीले १ विकेट लिइन् । प्रतियोगिताको प्लेयर अफ द सिरिज मोरङकी सानु राजवंशी घोषित भइन् भने उत्कृष्ट ब्याटर इलामकी प्रियंका राई, उत्कृष्ट बलर मोरङकी सुभेक्षा लिम्बु र उदयमान खेलाडि सिरहाकी आरुषी साह घोषित भए । फाल्गुन २२ गतेदेखि शुरु भएको प्रतियोगितामा कोशी र मधेश प्रदेशका मोरङ, इलाम, सप्तरी र सिरहा सहभागि रहेको खेल संयोजक विशाल साहले बताए । सोही अवसरमा फाइनलमा पुग्ने टिमलाई विराट टिचिङ अस्पतालले सेनेटरी प्याडलगायतका सामाग्रि वितरण गरेको छ ।
विजयी तथा अन्य खेलाडीलाई प्रमुख अतिथि मोरङ जिल्ला क्रिकेट संघका अध्यक्ष महमद साद वावु कुरैशी, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुस श्रेष्ठ, नेपाल क्रिकेट फाउण्डेशका अध्यक्ष अविशेक श्रेष्ठलगायतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरे ।