विराटनगर महानगरपालिकाद्धारा माईती नेपाल सहित तीन संस्था सम्मानित

विराटनगर २४ फागुन । ११४ औं अन्र्तराष्ट्रिय महिला दिवसको अवसरमा विराटनगर महानगरपालिकाले माईती नेपाल सहित तीनवटा सामाजिक संस्थाहरुलाई सम्मानित गरेको छ ।

सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाले आज संयुक्त रुपमा आयोजना गरेको सम्मान तथा अन्र्तरक्रिया कार्यक्रममा माईती नेपाल, एवीसी नेपाल र ओरेक नेपाललाई सम्मानित गरिएको हो । महिला मानव अधिकारको क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै महानगरपालिकाले सम्मानित गरिएको बताएको छ ।

विराटनगर सीमा क्षेत्रमा रहेर माइती नेपालले मानव बेचविखन तथा ओसारपसार विरुद्धको अभियानमा डेढ दशकदेखि काम गर्दै आएको छ । त्यसैगरि महिलाको अधिकारको क्षेत्रमा काम गर्दै आएका एवीसी र ओरेकलाई पनि महानगरले सम्मानित गरेको थियो ।

सोही कार्यक्रममा १० जना श्रमिक महिलाहरुलाई पनि सम्मानित गरिएको छ । जिविकोपार्जनका लागि घरेलु कामदारका रुपमा काम गर्दै आएका, सिटी सफारी चालक, तरकारी तथा फलफूल व्यवसायी महिलाहरुलाई सम्मानित गरेको विराटनगर महानगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाकी अधिकृत मञ्जु लोहनीले जानकारी दिनुभयो ।