विराटनगर २२ फागुन । मोरङको पथरी शनिश्चरेमा बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हत्यामा संलग्न रहेको आशंकामा मोरङको ग्रामथान गाउँपालिका–४ का ३८ वर्षीय धीरेन चौधरीलाई पक्राउ गरिएको हो । बालिकाको हत्यापछि फरार रहेका उनलाई बेलबारीस्थित भाउन्नेको जंगलबाट पक्राउ गरेको प्रहरीको भनाइ छ ।
खोटाङको ऐंसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी १५ वर्षीया ज्ञानमती थुलुङ राईको सोमबार राति निर्मम हत्या गरिएको थियो । ज्ञानमती पथरीशनिश्चरे नगरपालिका–७ लामा टोलीस्थित मामाको छोरा विनोद राईको घरमा २ वर्षदेखि बस्दै आएकी थिइन् ।
सुत्नुअघि शौचालय जाने क्रममा बसेकै घरको कम्पाउण्डमा राति १०ः३० बजे उनको हत्या भएको थियो ।