वीरेन्द्र मावि ग्रामथानका विद्यार्थीलाई कपडा वितरण

विराटनगर १४ फागुन । मोरङ ग्रामथान १ को वीरेन्द्र माविका विद्यार्थीलाई कपडा वितरण गरिएको छ । पूर्वविद्यार्थी समाज र ग्रामथान गाउँपालिका कार्यालय १ को सहकार्यमा र विराटनगर निवासी अनिता दुगड, सनराईज सिटि होम लेडिज, काठमाडौं लेडिज सर्कल ११ को आर्थिक तथा सामग्री सहयोगमा गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई लत्ताकपडा वितरण गरिएको हो ।

सरकारी विद्यालय प्रतिको आकर्षण घट्नु तथा गरिबी र जाडोको कारणले बिद्यालयमा बिद्यार्थीको दुरी पातलिएको अवस्थामा अभिभावकहरुलाई पनि नियमित छोरा–छोरीलाई स्कुल पठाउने उत्प्रेरणा जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको बताईएको छ ।

पूर्व बिद्यार्थीहरु आफैले संकलन गरेको पैसा तथा दाताहरुको सहयोगमा समाजले बिभिन्न क्रियाकलाप संचालन गर्दै आएको छ । केहि महिना अघि पुर्व विद्यार्थी, स्कुल व्यवस्थापन समिति, अभिभावक, बिद्यालयका शिक्षक शिक्षिका र वडा न. १ को सहयोगमा स्कुललाई आकर्षक बनाउन स्कुल हाता भित्र वृक्षारोपण गर्नुको साथै फूलबारी पनि व्यवस्थापन गरेको समाजले ७४औं प्रजातन्त्र दिवसको अवसर पारेर ग्रामथान क्षेत्रका स्कुलहरुलाई लक्षित गरि हाजिरी जवाफ तथा खुल्ला दौड प्रतियोगिता आयोजना गरेको थियो ।

आगामी दिनमा स्कुलको भवनको लागि प्रदेशका योजनाहरुमा र राष्ट्रिय योजना आयोगमा प्रस्तावना पत्र पेश गर्नुको साथै बिधार्थी भर्ना र गुणस्तरिय शिक्षाको लागि रणनीतिक योजनाहरु बनाउने कुरालाई प्राथमिकता राखी बैठक तथा छ्लफल अगाडी बढाउने वीरेन्द्र माविका पूर्व विद्यार्थी समाजका अध्यक्ष राजीव चौधरीले जानकारी दिनुभयो ।

कार्यक्रममा ग्रामथान–१ का वडा अध्यक्ष सुरेशकुमार माझी, वडा सदस्य आनन्द सरदार, संजयकुमार माझी, प्रनाध्यापक मनोज रम्तेल, अभिभावक, पूर्व विद्यार्थीहरु र विद्यालयका शिक्षक शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।