विराटनगर २१ माघ । मोरङको वुढीगंगा गाउँपालिकास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकूद प्रतियोगिता आजदेखि हात्तिमुडाको कर्मवीर विद्यालयमा शुरु भयो ।
गाउँपालिकाद्वारा पाँच दिनसम्म सञ्चालित पाँचौ अन्तरविद्यालय प्रतियोगितामा एवं दोश्रो प्रतिभा पहिचान कार्यक्रममा उक्त पालिकाका सामुदायिक र संस्थागत गरि १६ विद्यालयका एक हजार विद्यार्थीहरुले एथलेटिक्स, कराँते, भलिवल र कवड्डी खेलमा भाग लिएका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले प्रतियोगिताको उद्घाटन गर्दै राज्यले खेलकूदलाई प्राथमिकता राखि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने बताउनु भयो । उहाँले नेपाललाई विश्वमा पहिचान गराउने खेलकुद भएकोले खेलाडीहरुका लागि आवश्यक प्रशिक्षण, खेलकुद मैदान र भत्ताको व्यवस्था गर्नु आवश्यक रहेको धारणा राख्नु भयो । नेता डा कोइरालाले यस्ता प्रतियोगिताले वहुजातिय समुदाय वीच एकता कायम गर्न मद्दत पुग्नुका साथ युवापुस्तालाई अनुशासित बनाई मुलुकको समृद्धि कायम गर्न सहयोग पुग्ने विचार राख्नु भयो ।
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले युवाहरुलाई विदेश पलायन रोक्न प्राविधिक शिक्षाको सहज पुहँच पुर्याउनु पर्नेमा जोड दिनु भयो । वुढीगाँउ पालिकाका अध्यक्ष जीतनारायण थापा मगर र उपाध्यक्ष अमृता गच्छदारले राष्ट्रको पहिचान कायम गर्ने खेलकुदका लागि पालिकाकाले विशेष प्रोत्साहन दिने प्रतिवद्धता व्यक्त्त गर्नु भयो ।