वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न एमाले सांसदद्धारा मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण

विराटनगर २२ माघ । नेकपा एमालेका प्रदेशसभा सदस्यहरुले विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको समस्या समाधान गरिदिन कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको ध्यानाकर्षण गराएका छन् ।

सुनसरीबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सांसदहरुले आज मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण गराउँदै प्रतिष्ठान विभिन्न कारणले धरासायी बन्दै गईरहेको बताए । प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीको आन्दोलनका कारण विद्यार्थीको पढाई र नागरिकको उपचारमा समस्या भइरहेको सांसदहरुको भनाई छ ।

प्रदेशको मुख्यमन्त्री तथा स्वास्थ्यमन्त्री समेत भएकाले सम्बन्धित प्रतिष्ठानका पदाधिकारी र संघीय सरकारसँग आवश्यक समन्वय र सहजीकरण गरी समस्याको तत्काल निराकरण गर्न अति आवश्यक भएको सांसदहरुको भनाई छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीको नेतृत्वमा गएको टोलीमा प्रदेश सांसदहरु रमेशकुमार बस्नेत, विजयकुमार राई, रामप्रसाद महतो, रोहितबहादुर कार्की, रामदेव यादव र मिना श्रेष्ठ सहभागी थिए ।