कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र मतभेद छ : अध्यक्ष लिङ्देन

विराटनगर २७ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टीभित्र दुई मत रहेको बताउनुभएको छ ।

शुक्रबार पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले कोशी प्रदेशमा सभामुख लिएको विषयमा पार्टी भित्र फरक मत रहेको बताउनुभएको हो ।

अध्यक्ष लिङ्देनले एउटा मत सभामुख लिनु नहुने पक्षमा रहेको र अर्काे मत सभामुख लिनु राम्रो हुने पक्षको रहेको उल्लेख गर्दै यस विषयमा पार्टीको आगामी केन्द्रिय कार्यसमितिको बैठकमा छलफल गरिने बताउनुभयो । उहाँले आफू देश बाहिर भएको बेलामा कोशी प्रदेशले निर्णय गरेर सभामुख लिएको पनि स्पष्ट पार्नुभयो । अध्यक्ष लिङ्देनले राप्रपाले फागुनबाट राजधानी केन्द्रित आन्दोलन गर्ने बताउनुभयो । उहाँले शान्तिपूर्ण ढंगले जनदबाब सिर्जना गर्नेगरी आन्दोलन गरिने बताउनुभयो ।

अध्यक्ष लिङ्देनले गणतन्त्रवादी राजनीतिक दलहरु र राजासमेत एकै ठाउँमा बसेर देशमा नयाँ प्रकारको समझदारी गर्नुपर्ने बताउनुभयो । उहाँले देश निरन्तर रुपमा ओरालो लागिरहेको भन्दै देशलाई उठाउने कुनै प्रयत्न नभएको बताउनुभयो । उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री र अभिभावकिय संस्थाको रुपमा राजा हुने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

प्रदेशलाई खारेज गर्दै केन्द्र र स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताउनुभयो । अध्यक्ष लिङ्देनले राष्ट्रिय सभाको अस्तित्वको सम्बन्धमा पुनःविचार गर्नुपर्ने बताउनुभयो ।

जनप्रतिनिधिहरुको संख्यामा व्यापक कटौती गर्नुपर्ने र संवैधानिक निकायमा नियुक्ति दिँदा योग्यता र क्षमताको आधारमा दिनुपर्ने बताउनुभयो । उहाँले वर्तमान निर्वाचन प्रणाली भ्रष्ट भएको भन्दै पूर्ण समानुपातिक प्रतिनिधि सभाको व्यवस्था हुनुपर्ने बताउनुभयो ।