कोशीको सभामुखमा राप्रपालाई समर्थन गर्ने एमालेको निर्णय, एमालेमा असन्तुष्टी

विराटनगर २४ पुस । कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई समर्थन गर्ने निर्णयप्रति एमालेमा असन्तुष्टी देखिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको मंगलबार विहान बसेको संसदीय दलको बैठकले राप्रपाले सभामुख पाए सघाउने निर्णय गरेको प्रति संसदीय दल भित्र असन्तुष्टी देखिएको हो ।
प्रदेश सरकारलाई समर्थन गरेर बाहिर बस्नेकुरा प्रदेशको सन्दर्भमा सान्दर्भीक नभएको एक प्रदेश सांसदले बताए । पार्टीको यस्तो निर्णयले प्रदेशमा पार्टी र प्रदेश सांसदहरुको भूमिका प्रभावकारी नहुने उनको भनाई छ । उनले भने,‘ प्रदेश सरकारलाई समर्थन गरेपछि सभामुख आफुले लिनुपर्ने र सरकारमा पनि सहभागि हुनुपर्यो ।’ सरकारलाई समथैन गरेर पनि सरकारमा सहभागि नहुँदा विकास निर्माण लगायत प्रशासनिक काममा प्रदेश सांसदहरुको भूमिका कमजोर हुने उनको तर्क छ ।

प्रदेशमा गठबन्धन दल भन्दा बाहिरबाट सभामुखको उम्मेदवारी परे सघाउने निर्णय गरिएकोे एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए । भण्डारीले भने,‘ एउटै दलको सभामुख र उपसभामुख एउटै दलको नहुने भएपछि सभामुखमा राप्रपालाई सघाउने निर्णय भएको हो ।’ उनका अनुसार संसदीय दलको बैठकले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेका उम्मेदवारलाई जिताउन मतदान गर्ने निर्णय गरेको हो ।

कोशीमा राप्रपालाई सभामुख दिन सत्ता गठबन्धन तयार भएका छन् । कोशी प्रदेश सभामा रिक्त रहेको सभामुखको निर्वाचन आजै हुने भएको छ । प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले आज दिउँसो ३ बजे सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो । सोही अनुसार निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ ।
सरकार गठनमा सहयोग गर्न तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि गत साउन १६ देखि कोशी प्रदेशमा सभामुख रिक्त छ । मंगलबार बिहान बसेको कार्यव्यवस्था परामर्श समिति बैठकले आजै सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो ।

राप्रपाबाट सभामुखमा अम्बरबहादुर विष्टले उम्मेदवारी दिनेछन् । राप्रपाले केही दिनअघि नै विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।