विराटनगर, २३ पुस । गत कार्तिक १७ गते सप्तकोशीमा डुबेर घाइते बनेका पत्रकारको उपचार खर्च दिन प्रदेश सरकार र सशस्त्र प्रहरीले आलटाल गरेको छ । सप्तकोशीमा डुब्दा पत्रकारहरुको मोवाइल, नगद तथा क्यामेरा गरी झण्डै ५ लाखको सामान काम नलाग्ने भएको थियो ।
सप्तकोशी नदीस्थित पुलमा सशस्त्र प्रहरी बल वराह बाहिनीको विपद् उद्धार परीक्षण कार्यक्रमको समापनको अवसरमा ‘डेमो’ देखाउन भन्दै सशस्त्र प्रहरीले पत्रकार भेला गरेको थियो । त्यसक्रममा ‘डेमो’ देखाउनुको साटो क्षमताभन्दा बढीलाई डुंगामा चढाएको कारण सप्तकोशीमा दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएका विराटनगरस्थित रेडियो नेपालका पत्रकार कुमोद अधिकारीलाई ५ दिनसम्म धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसियुमा राखेर उपचार गर्नुपरेको थियो । यस्तै कान्तिपुरका पत्रकार महाप्रसाद खतिवडालाई पनि केही दिन उपचार गर्नुपरेको थियो । पत्रकार अधिकारीले उपचार गरेको ६५ हजार रुपैयाँ आफैंले तिर्नु परेको बताउनुभयो ।
पत्रकार खतिवडाले पनि उपचार खर्च आफैंले गरेको बताउनुभयो । पत्रकारहरुलाई सशस्त्र प्रहरीले गाडीमा हालेर लगेको थियो । सशस्त्र प्रहरी कोशी प्रदेशका प्रमुख डिआइजी अञ्जनी पोखरेलले प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले क्षतिपूर्ति दिने गरी आफूहरुले सिफारिस गरेको बताउनुभयो । मुख्यमन्त्री केदार कार्कीका जनसम्पर्क सल्लाहकार समेत रहनु भएका पत्रकार महासंघ प्रदेशका अध्यक्ष लिलाबल्लभ घिमिरेले कार्यविधिमा १५ हजार मात्रै क्षतिपूर्ति दिने व्यवस्था रहेकोले त्यसलाई सच्याएर पत्रकारलाई उपचार खर्च र हराएको, बिग्रेको सामान बुझाएअनुसार सोही सामानको मूल्य बराबरको रकम क्षतिपूर्ति उपलब्ध गराइने बताउनुभयो ।
दुर्घटनामा चार पत्रकारसहित ११ जनाको टोली डुबेको थियो । दुर्घटनामा कान्तिपुरकर्मी खतिवडा, साह र पोखरेल तथा पत्रकार कुमोद अधिकारी, जितेन्द्र ठाकुर, उदयपुरका स्थानीय सुशील सेँढाई, अर्जुन दाहाल, टंक शर्मा, तेजप्रसाद तिम्सिना, गोमा सेँढाई, विशाल दाहाल र अम्बिका निरौला घाइते भएका थिए । पानीमा डुबेर बेहोस भएका अधिकारी र खतिवडाको छातीमा समस्या देखिएपछि अस्पताल लगिएको थियो । सशस्त्र प्रहरी बलको बराह बाहिनी सुनसरीले दुई महिनाअघि सुरु गरेको गोताखोर तालिमको समापनको अवसरमा कृत्रिम अभ्यास गराउने तयारी थियो ।