विराटनगर ११ पुस । कोशी प्रदेश सरकारले प्रदेश संचार माध्यम व्यवस्थापन गर्न बनेको विधेयक २०८० प्रदेशसभामा पेस गर्ने तयारी गरेको छ । प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले सो विधेयक प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गरेको हो ।
प्रदेश सरकारको प्रवक्ता आन्तरिक मामिला तथा कानूनमन्त्री शम्शेर राईले शैलजा आचार्य हृदय रोग उपचार केन्द्र संचालन कार्यविधि २०८० बैठकले स्वीकृत गरेको बताउनुभयो । मुख्यमन्त्री केदार कार्कीले हृदय रोग उपचार केन्द्र तत्काल सञ्चालनका लागि कार्यविधि बनाएर काम अघि बढाएको बताउनुभयो ।
बैठकले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को प्रदेश कार्यालय र आंगिक शिक्षालय प्रदेश सरकारलाई हस्तान्तरण गर्नका लागि नेपाल सरकार समक्ष अनुरोध गर्ने निर्णय भएको प्रवक्ता राईले बताउनुभयो ।
प्रदेश सरकारको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको पाँचौ वार्षिक प्रतिवेदन प्रदेश सभामा पेश गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।