राष्ट्रसेवक सहकारीद्धारा चालु आ.व. ४४ करोड ७२ लाखको कारोबार गर्ने लक्ष्य

विराटनगर १० पुस । मोरङको विराटनगरमा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । सहकारीका अध्यक्ष जीवन काफ्लेको अध्यक्षता तथा नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारण सभामा सहकारीका अध्यक्ष काफ्लेले सहकारीको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदनका अनुसार सहकारीले आर्थिक बर्ष २०७९/८० मा ३३ करोड ७३ लाख ०६ हजार १२१ रुपैयाको कारोबार गरेको छ भने आर्थिक बर्ष २०८०÷०८१ मा ४४ करोड ७२ लाख ६६ हजार ७ सय रुपैयाको कारोबार गर्ने लक्ष्य राखेको छ ।  सहकारीले ४ करोड ८१ लाख ५ हजार ९ रुपैया आम्दानी गरेको छ भने ३ करोड ५२ लाख ६१ हजार ६८२ रुपैया खर्च गरेको छ ।
त्यसैगरी शेयरपूँजी ६ करोड १७ लाख ८६ हजार ३ सय रहेको छ भने कोष हिसाब २ करोड ८६ लाख ५४ हजार ७११ रुपैया ३१ पैसा रहेको छ । सहकारीको निक्षेप २८ करोड ९५ लाख २७ हजार ७४८ रुपैया ०४ पैसा रहेको प्रतिवेदनमा उल्ल्ेख छ । सहकारीले २८ करोड ४८ लाख ७१ हजार ५४० रुपैया ऋण लगानी गरेको छ ।

सहकारीको २ करोड ७७ लाख ५७ हजार १९० रुपैया बराबरको स्थिर सम्पति रहेको छ भने जसमध्ये घरजग्गा २ करोड ६९ लाख ५६ हजार ९६२ रुपैया रहेको छ ।
सहकारीमा १८ सय २६ जना शेयर सदस्य रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि लेखनाथ कोईरालाले राष्ट्रसेवक सहकारी सहकारीको निति नियममा रहेर सञ्चालन भएका कारण विषम् परिस्थितिमा पनि हलचल नभएको बताए । सहकारीको देखिएका विभिन्न समस्याका कारण सहकारीप्रति वितृष्णा बढीरहेको अवस्थामा राष्ट्रसेवक सहकारीले भने निरन्तर रुपमा सदस्यको मन जित्न सफल भएको उल्लेख गरे । सवैभन्दा जेठो राष्ट्रसेवक सहकारीको रुपमा स्थापित सहकारी मोरङको रहेकाले सबैको उदाहरणीय बन्नुपर्नेमा उनले जोड दिए ।

निति नियम सञ्चालन भएका सहकारीमा जस्तोसुकै परिस्थितिमा पनि समस्या नआउने उनको भनाई थियो ।
सहकारीले आफ्नो २५ औं साधारणसभाको अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । १५ हजार ५५५ रुपैया राशिको स्व. किशोरी खतिवडा स्मृति पुरस्कार पूर्व सासंद तथा साहित्यकार कुन्ता शर्मालाई प्रदान गरेको छ । त्यसैगरी रुपनारायण अधिकारीलाई ११ हजार ५५० रुपैया राशिको स्व. दधिराम दाहाल स्मृति पुरस्कार प्रदान गरिएको छ भने सहकारीकर्मी नरबहादुर कार्कीलाई ११ हजार ५५५ रुपैया राशिको स्व. हिरणकुमार थापा स्मृति पुरस्कार प्रदान गरिएको छ ।

त्यस्तै सहकारी अभियान्ता तथा राष्ट्रिय सहकारी बैंकका प्रदेश प्रमुख प्रभु पोखरेललाई पनि सम्मान गरिएको छ । सहकारीले ८० बर्षका ज्येष्ठ सदस्य दुन माझीलाई नगद ५ हजार सहित सम्मान गरेको छ ।
साधारण सभामा ग्याँस व्यवसायमा महत्वपूर्ण सहयोग गर्ने फेमस चाट हाउसका प्रोपाइटर आनन्दभूषण खड्कालाई पनि सम्मान गरेको छ । सहकारीले ७५ बर्ष पुरा भएका जेष्ठ सदस्यलाई बार्षिक रुपमा औषधिखर्च बापत २ हजार दिने निति अनुरुप ७५ बर्ष पुरा भएका जेष्ठ सदस्यहरुलाई सम्मान स्वरुप २ हजार रुपैया प्रदान गरेको छ ।

सहकारीले मुख्य कार्यक्रमका रुपमा खाना पकाउने एलपि ग्याँसको विक्री, परिवार राहत कार्यक्रम, अक्षयकोष स्थापना र सम्मान, सहकारी अध्ययन तथा सूचना केन्द्रको पूर्वाधार निर्माण र संचालन, अनलाईन सफ्टवेयर मार्फत संस्थाको कारोबार, मोबाइल एप्लीकेशन संचालन गरिरहेको बार्षिक प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बचत संकलन (व्याजदर ६–११ प्रतिशत) र ऋण लगानी (व्याजदर १०–१२ प्रतिशत) कायम गरेको छ ।

त्यस्तै सहकारीले सामाजिक सांस्कृतिक कार्यहरुमा ज्येष्ठ सदस्य सपोर्ट, अवलोकन भ्रमण, तीज कार्यक्रम, वनभोज कार्यक्रम, स्वास्थ्य सचेतना कार्यक्रम, विद्यार्थ सम्मान तथा पुरस्कार, फरक क्षमता भएका र वृद्धाश्रममा रहेकाहरुलाई सहयोग, ज्येष्ठ सदस्य सम्मान तथा आवासग्रामको सम्भाव्यता अध्ययन लगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ ।