गिरिजाप्रसाद कोइराला विशेष सम्मानबाट पत्रकार निरौला सहित चारजना सम्मानित

विराटनगर, ६ पुस । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले पूर्व अध्यक्ष सहित विभिन्न ४ जना ब्यक्तिहरुलाई सम्मान गरेको छ ।

फाउण्डेशन कोशी प्रदेशले आज विराटनगरका एक कार्यक्रमको आयोजना गर्दै गिरिजाप्रसाद कोइराला विशेष सम्मानबाट फाउण्डेशन कोशी प्रदेशका पूर्व अध्यक्ष शैलेन्द्र शिवाकोटी र फाउण्डेशन मोरङका संस्थापक पूर्व अध्यक्ष कौशल निरौलालाई सम्मान गरेको हो । शिवाकोटी अर्थशास्त्री हुन् भने निरौला पत्रकारिता क्षेत्रमा आवद्ध छन् । यस्तै क्रान्ति पुरुष गिरिजाप्रसाद कोइराला नामक पुस्तकका लेखक मेदनीप्रसाद सेढाइ र विराटनगर स्थित पारस हस्पिटलका अध्यक्ष शफिउर रहमानलाई समेत फाउण्डेशनले सम्मान गरेको छ ।

सेढाइद्वारा लिखित क्रान्ति पुरुष गिरिजाप्रसाद कोइराला नामक पुस्तक शुक्रबार विमोचन समेत गरिएको छ । विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले पुस्तक विमोचन गर्नका साथै सम्मानित व्यक्तिहरुलाई सम्मानित गरेका थिए ।

पुस्तकका विषयमा प्रा.डा टुनराज भट्टराई ,कोशी प्रदेशका पूर्व कानूनमन्त्री लिलाबल्लभ अधिकारीले पुस्तकमाथी टिप्पणी गरेका थिए ।

फाउण्डेशन कोशी प्रदेशका अध्यक्ष राजेश गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मोरङका सचिवद्वय मोदराज घिमिरे, ललित श्रेष्ठ, नेपाली कांग्रेस मोरङका पूर्व सचिव यदु विष्ट, रतुवामाई नगरपालिकाका पूर्व प्रमुख रविन राई, वरिष्ठ पत्रकार शंकर खरेल, प्रा.डा.जीवन ढकाल, प्रा.डा.कृष्ण पोखरेल, धनपालथान गाँउपालिका मोरङ अध्यक्ष जिवछकुमार गच्छदार , जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र प्रसाद साह, जसपा कोशी प्रदेश सचिव अनिलकुमार ठाकुर, नेपाली कांग्रेस युवा नेता अरुण न्यौपाने, फाउण्डेशन मोरङ अध्यक्ष बेदमणी घिमिरे, विराटनगर महानगर अध्यक्ष प्रविण जोशी, शैलजा आचार्य स्मृति पोलिटेक्निक अध्यक्ष मीता आचार्य लगायतको सहभागिता रहेको थियो ।