मोरङ बुढीगंगामा आरआर अस्पतालको शिलान्यास, २ वर्ष भित्रमा सुविधा सम्पन्न अस्पताल बनाईने

विराटनगर ४ पुस । मोरङको बुढीगंगा १ टंकीसिनवारीमा आज आरआर इन्टरनेशनल अस्पतालको शिलान्यास गरिएको छ । शिवम् अर्गनाईजेसनले निर्माण गर्न लागेको अस्पतालको आज शिलान्यास गरिएको हो । नेपालबाट बर्षेनी हजारौंको संख्यामा नेपालीहरु भारत लगायत विभिन्न देशहरुमा स्वास्थ्य उपचारको लागि जानुपर्ने अवस्थालाई अन्त्य गर्ने उद्देश्य सहित अस्पताल सञ्चालनको तयारी गरिएको अर्गनाईजेसनका अध्यक्ष तथा नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बताउनुभयो ।

शिलान्यासपछि आयोजित पत्रकार सममेलनमा अध्यक्ष राउतले २ वर्षभित्रमा अस्पताल सञ्चालनको तयारी गरिएको बताउनुभयो । ३ वर्षभित्रमा अस्पताल निर्माणको लक्ष्य राखिएपनि २ वर्षमा निर्माण सम्पन्न गरेर सञ्चालनको तयारी गरिएको उहाँले बताउनुभयो । २ अर्व ५० करोड लगानीमा एक विगाहा ८ कठ्ठा क्षेत्रफलमा अस्पताल निर्माण हुने उहाँले बताउनुभयो । अस्पताल सञ्चालनपछि नर्सिङ कलेजको तयारी गरिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘ गुणस्तरिय प्रतिष्पर्धा गर्ने उद्देश्य सहित अस्पताल सञ्चालनको तयारी गरिएको हो ।’ एकसाता भित्रमा निर्माणको काम शुरु हुने उहाँले बताउनुभयो ।

देशको समग्र स्वास्थ्य सेवाको माग र आपूर्ती तथा गुणस्तर बीचको खाडल कम गर्न खुल्ला अर्थतन्त्रमा निजि क्षेत्रको सहभागिताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने शिवम् अर्गनाईजेसनका सदस्य प्रतिक राउतले बताउनुभयो । उहाँका अनुसार शुरुमा २०० सैया क्षमताको अस्पताल निमार्ण गर्न लागिएको छ । हाल यसलाई १०० शैंयाको मल्टि स्पेशियालिटी अस्पताल संचालन गर्ने र क्रमश ३०० शैया सम्म विस्तार गर्ने लक्ष्य लिइएको राउतले बताउनुभयो । उहाँले भन्नुभयो,‘ आरआरअस्पतालबाट जटिल स्वास्थ्य सेवाको निम्ति विदेश र राजधानीका अस्पताल धाउनु पर्ने बाध्यतालाई कम गरी गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य राखीएको छ ।’

अस्पतालले मुटुरोगको उपचारलाई प्राथमिकतामा राखी २४ सै घण्टा आकस्मिक सेवा, कार्डियो, क्याथ ल्याव जस्ता सेवा सुविधा उपलब्ध गराउने राउतको भनाई छ । उहाँका अनुसार अस्पतालबाट जनरल मेडिसन, न्यूरो सर्जरी, जनरल सर्जरी, मृगौला रोग, मुत्ररोग, स्त्रीरोग तथा प्रसुती सेवा, आँखा रोग, नवजात शिशु तथा बालरोग, हाडजोर्नी तथा नशाको विशिष्टिकृत उपचार सेवा उपलब्ध गराउने योजना रहेको छ ।  शल्यक्रिया आधुनिक र विश्वसनीय प्रविधि तथा उपकरणको माध्यमबाट हुने गरी पूर्वाधार सुनिश्चित गरिने सदस्य राउतले पत्रकार सममेलनमा जानकारी दिनुभयो ।
आरआर अस्पताललाई एउटा व्यवसायीक घरानाको मात्र नभएर कोशी प्रदेश कै सम्पती र सवै सेवाग्राहीको विश्वासको केन्द्रका रुपमा स्थापित गराउने उद्धेश्य राखिएको उहाँले बताउनुभयो ।

झण्डै ३० वर्षदेखि विभिन्न उद्योग व्यवसायका क्षेत्रमा संलग्न रहँदै आउनु भएका नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत, नेपाल उद्योग वाणिज्य महासंघका स्थायी समिति सदस्य तथा सार्क चेम्वर अफ कमर्शका कार्यसमिति सदस्य समेत हुनुहुन्छ ।