विराटनगर, ६ वैशाख । महिला प्रहरी हत्या घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाइएका १० जनालाई जिल्ला अदालत मोरङले जनही ५० हजार रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको छ ।
मोरङको मिक्लाजुङ गाउँपालिका–२ का २१ वर्षीय कान्छा भनिने कृष्ण विश्वकर्मा, लेटाङ नगरपालिका–५ का १९ वर्षीय डम्बर कार्की, २७ वर्षीय विशेक मगर, धनकुटा घर भइ लेटाङ–५ मा बस्दै आएका २० वर्षीय सन्तोष कुँवर, ३२ वर्षीय राजकुमार भनिने कुमारबहादुर खोक्रेल, २० वर्षीय समीर राई, १८ वर्षीय कपिल नेपाली, २५ वर्षीय मनकुमार महरा, २९ वर्षीय लेखबहादुर मगर र १९ वर्षीय अनिल विश्वकर्मालाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा चलाइएको थियो ।
अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश शिशिरराज ढकालको इजलासले अभियुक्तहरुलाई धरौटीवापतको रकम लिएर छाड्न आज आदेश दिएको हो । लेटाङ ५ खेरुवामा गत चैत ६ गते महिला प्रहरी उर्मिला श्रेष्ठको हत्या गरेको आरोपमा १५ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो ।
लेटाङ ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक ५६ वर्षीय मनोजकुमार पौडेलले गत चैत ४ गते सोही विद्यालयमा अध्ययनरत १४ वर्षीया छात्रालाई यौन दुव्र्यवहार गरेको घटना बाहिरिएको थियो । घटनाको विरोधमा सुरु भएको आन्दोलन हिंसात्मक झडपमा परिणत हुँदा चैत ६ गते महिला प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको हत्या भयो । शिक्षक पौडेललाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले सोमबार साँझ आदेश दिएको थियो ।
लेटाङ घटनामा संलग्न भएको आरोपमा हालसम्म ७२ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेकामध्ये १५ जनाविरुद्ध अदालतमा कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो । मुद्दा दर्ता गरिएकामध्ये १० जनामात्रै पक्राउ परेका थिए ।