शेयर पुँजी २ करोड ५० लाख पुर्याउने बुद्धोदय सहकारीको लक्ष्य

विराटनगर १८ मंसिर । बुद्धोदय बचत तथा ऋण सहकारी संस्था विराटनगरले चालु आर्थिक वर्षमा शेयर पुँजी २ करोड ५० लाख पुर्याउने लक्ष्य लिएको छ । आर्थिक वर्ष २०७९–०८० मा २ करोड ३१ लख १५ हजार ७ सय रहेको शेयर पुँजी चालु आर्थिक वर्ष भित्रमा अढाई करोड पुर्याउने लक्ष्य राखिएको छ ।

संस्थाको आज विराटनगरमा सम्पन्न १५ औं बार्षिक साधारणसभाका अवसरमा अध्यक्ष राजेन्द्रप्रसाद खनालले आर्थिक वर्ष २०७९–८० को असार मसान्त सम्ममा कोषमा २ करोड ५६ लाख ७८ हजार २३५, निक्षेप ९ करोड ६६ लाख ९४ हजार ७६१, ऋण लगानी ११ करोड १२ लाख ६८ हजार २५ र बैंक तथा नगद मौज्दात २ करोड १० लाख ५४ हजार ५०९ रहेको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

बुद्धोदय बचत तथा ऋण सहकारीले चालु आर्थिक वर्षभित्रमा बचत निक्षेप १२ करोड र ऋण लगानी १५ करोड पुर्याउने लक्ष्य रहेको लेखा समितिका संयोजक अविनाशकुमार निधिले जानकारी दिनुभयो ।
१५ औं बार्षिक साधारणसभाका अवसरमा १५ जना जेष्ठ नागरिक, २ जना सर्वोत्कृष्ट बचत कर्ता, २ जना सर्वोकृष्ट उद्यमी र एसईई र उच्च माध्यमिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने शेयर सदस्यका छोरा छोरीलाई सम्मान गरिएको थियो ।

बार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बुद्धोदय सहकारी विराटनगरका सहकारीहरु मध्ये राम्रो भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘ विराटनगरमा धेरै सहकारी छन् । त्यसमध्ये बुद्धोदय राम्रो नमूना सहकारी भित्र पर्छ ।’ प्रमुख कोइरालाले सहकारीको नियम विपरित सञ्चालित सहकारीलाई महानगर कारवाहीको दायरा भित्र ल्याउने काम गरिरहेको बताउनुभयो । सहकारीहरु सहकारीको नियम भित्र रहेर सञ्चालन हुनुपर्ने उहाँले बताउनुभयो । प्रमुख कोइरालाले बैंकले गर्ने काम सहकारीले गर्न नहुने बताउनुभयो ।

कार्यक्रममा विराटनगर महानगरपालिका वडा नं ३ का वडाध्यक्ष बासुबहादुर वस्नेत, राष्ट्रिय सहकारी बैंकका प्रवन्धक चिरञ्जीवि तिम्सीना लगायतले बोल्नु भएको थियो । साधारणसभाको अवसरमा नवनिर्वाचित कार्यसमिति र लेखा समितिको सपथ ग्रहण पनि गराईएको थियो ।

बुद्धोदय बचत तथा ऋण सहकारीले १५ औं बार्षिक साधारणसभाका अवसरमा आज विहान आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेको कार्यसमिति सदस्य उद्धव घिमिरेले जानकारी दिनुभयो । बुद्धोदयमा ८६९ जना शेयर सदस्य छन् ।