विराटनगर १६ मंसिर । राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशले अपाङ्गता भएका व्यक्तिहरुको ३२ औ अन्तराष्ट्रिय दिवसको अवसरमा आज साँझ विराटनगर ट्राफिक चौकमा दीप प्रज्वलन गरिएको छ ।
प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिका लगायतको सहकार्यमा अपाङ्ग महासंघ कोशी प्रदेशले आयोजना गरेको कार्यक्रममा सरोकारवाला व्यक्तिहरु लगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।
अपाङ्गता भएका ब्यक्तिहरुको आर्थिक तथा सामाजिक विकास एवं अधिकारका लागि विश्वमा वढ्दो दवावको फलस्वरुप संयुक्त राष्ट्र संघले सन १९८१ मा अपाङ्गता सम्वन्धि विश्वब्यापी कार्ययोजना तयार गरी पारित गरिएको दिन ३ डिसेम्वर लाई अन्तराष्ट्रिय रुपमै अपाङ्गता भएका ब्यक्तिहरुको दिवसको रुपमा मनाउने प्रचलन रही आएको छ ।
पारित गरिएको सो दस्तावेज कार्यान्वयनका लागि सन् १९८१ लाई अन्तराष्ट्रिय अपाङ्गता वर्ष, १९८२ देखी १९९१ सम्म अन्तराष्ट्रिय अपांङ्गता दशक र १९९२ देखी नियमित रुपमा अन्तराष्ट्रिय अपांगता दिवसको रुपमा भब्यताका साथ विभिन्न कार्यक्रम सहित यो दिवस मनाईने गरिएको राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेशका फिल्ड अफिसर सञ्जय घोषले जानकारी दिनुभयो । उहाँका अनुसार दिवशको अवसरमा मंसिर १७ गते आईतबार प्रभात फेरी कार्यक्रम, दिउसो सरोकारवालाहरुसंग खुल्ला वहस कार्यक्रम तथा दिउसो २ बजे देखी आरोहण गुरुकुल विराटनगरमा नाटक मञ्चनको कार्यक्रम रहेको छ ।
‘दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धता : अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता भन्ने नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुको ३२ औ अन्तराष्ट्रिय दिवस ३ डिसेम्वर अर्थात आईतबार मनाईदैछ ।