विराटनगर १९ कात्तिक । झापाको सुरुङ्गाबाट ५१ दिन अघिदेखि वेपत्ता भएका छोराको खोजी गरिदिन प्रहरीलाई पीडित परिवारले आग्रह गरेका छन् ।
आज विराटनगरमा पत्रकार सम्मेलन गर्दै बुवा नेत्रप्रसाद सुवेदीले ३१ वर्षीय छोरा दीलिप सुवेदी ५१ दिनदेखि बेपत्ता हुँदासमेत प्रहरी प्रशासनले खोज्ने र घटनाको अनुसन्धानमा कुनै गम्भीरता नदेखाएको हुँदा गम्भीर भएर खोजी दिन आग्रह गर्नुभएको हो । बेपत्ता भएका दिलिप विराटनगर महानगरपालिका–४ घर भई हाल झापा कन्काई नगरपालिकास्थित सुरुङ्गामा रहेको नेपाल टेलिकमको लेखा अधिकृत तथा निमित्त कार्यालय प्रमुख रहनु भएको थियो ।
बुवाका अनुसार दिलिप भदौ ३० गते कार्यालय परिसरबाट बेपत्ता हुनु भएको हो । कार्यालयमा गएर बुझ्दा छोरा बिहान कार्यालय प्रवेश गरेपछि पुनः बाहिर निस्केको सुरक्षा गार्डले नदेखेको बताउनुभयो । गेष्ट रुममा स्कुटरको चाबी, पर्स, एटिएम कार्डलगायतका सामान त्यहीँ छाडेको भेटिएको छ ।
छोरा बेपत्ता भएकै दिन प्रहरीलाई खबर गरी खोजी दिन आग्रह गरे पनि हालसम्म कहीँ कतै रहेको वा फेला परेको थाहा छैन । ट्रयाक, टिसर्ट र चप्पल लगाएको व्यक्ति कार्यालय परिसरबाट बेपत्ता हुनले घटना शंकास्पद भएको बुवा नेत्रप्रसादले भन्नुभयो । ५१ दिन भइसक्दासमेत राज्यले एउटा कर्मचारीको खोजीमा गम्भीरता देखाउन नसक्नुले हामी पीडामा भएका परिवारलाई थप पीडा थप्ने काम भएको छ । उहाँले बेपत्ता छोराको गम्भीरतापूर्पक खोजी कार्य गरिदिन सबै पक्षलाई आग्रह गर्नुभयो ।
घटना थाहा पाउनासाथ छुट्टै अनुसन्धान टोली बनाएर अनुसन्धान थालेको बताउँदै, झापा प्रहरी प्रमुख एसपी दुर्गाराज रेग्मीले भन्नुभयो, ‘परिवारको सदस्य हराउँदा कसलाई पीडा हुँदैन र ? एक जना सर्वसाधारण व्यक्ति बेपत्ता हुँदा त प्रहरी गम्भीर भएर खोज्न लाग्छ भने उहाँ झन् एउटा राष्ट्रसेवक कर्मचारी हुन् गम्भीरता नलिने कुरौ नै भएन ।’ घटनाको थप अनुसन्धान गर्नका लागि प्रदेश प्रहरीबाट विशेष टोली घटनाको भोलीपल्ट झापा आएर काम थालेको बताउँदै, एसपी रेग्मीले भन्नुभयोे, ‘प्र्रदेशको टोलीसमेत आएर घटनाको सूक्ष्म तवरबाट अनुसन्धान गरिरहेको छ ।
अनुसन्धानको कुनै पनि पाटा बाँकी छाडेका छैनौं । दैनिक घटनाको प्रगती बारे बुझ्ने काम भइरहेको छ । अनुसन्धानमा प्रहरीले ढिलासुस्ती वा बेवास्ता गरेको छैन ।’