कोशी प्रदेशसभामा निजामति सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक पेश हुने

विराटनगर, ३१ साउन । कोसी प्रदेश सरकारले भदौं १ गते बस्ने प्रदेश सभा बैठकमा निजामति सेवा ऐन २०७९ लाई संशोधन गर्न बनेको विधेयक पेश गर्ने भएको छ । विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बुधबार बसेको मन्त्रीपरिषद् बैठकले प्रदेशसभामा सो विधेयक पेश गर्ने भएको हो ।

बैठकपछि सरकारका प्रवक्ता तथा खानेपानी, सिचाई तथा उर्जामन्त्री प्रदीप सुनुवारले स्थानीय सेवाको गठन सञ्चालन सेवा शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश हुने जानकारी दिनुभयो । मन्त्री सुनुवारले भने, ‘लोकसेवा आयोगबाट नियुक्ती सिफारिस भएर टुङ्गो नलागुञ्जेलसम्म साविक बमोजिम सालबसाली स्वीकृत भई सञ्चालनमा रहेको प्रदेश सरकार, मन्त्रालय, आयोग तथा निकायका आर्थिक वर्ष २०८०÷८१को अस्थायी संगठन संरचना, दरबन्दी स्वीकृत सम्बन्धमा निर्णय गरेको हो ।’

पछिल्लोसमय डेङ्गी संक्रमण महामारीका रुपमा फैलिदै गएकोमा प्रदेश सरकार गंभीर भएको उहाँले बताउनुभयो । मन्त्रीपरिषद्को बैठकले डेङ्गी संक्रमण नियन्त्रणमा लिनका लागि प्रदेश सरकारले आवश्यक जिल्लामा स्वास्थ्यसम्बन्धी कार्यक्रम तीव्रताका साथ अघि बढाउने निर्णय भएको मन्त्री सुनुवारले जानकारी दिनुभयो । सरकारका प्रवक्ता तथा मन्त्री सुनुवारले विभिन्न जिल्लामा देखिएको डेङ्गी संक्रमणबाट पीडित विरामीको स्वास्थ्य उपचारका लागि विराटनगरको कोसी कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको जानकारी दिएनुभयो ।