जीवन धान्न पुग्ने गरी आम्दानीमा वृद्धि गर्न संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको माग

विराटनगर, ३० असार । श्रमिकको पारिश्रमिक तत्काल निर्धारण गर्न संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) कोशी प्रदेशले माग गरेको छ । विराटनगरमा आज पत्रकार सम्मेलनको आयोजना गर्दै जीवन धान्न पुग्ने गरी आम्दानीमा वृद्धि नभएसम्म न्यून आय भएका श्रमिकको जीवनस्तर माथि उठ्न नसक्ने समन्वय केन्द्रले जनाएको छ ।

जेटीयूसीसीका प्रदेश अध्यक्ष किशोर धमलाले श्रमिकहरुको साझा मुद्दा उठान गर्न र समस्याको साधानतर्फ केन्द्रित हुने विषयमा आफूहरु सदैव सक्रिय रहेको बताउनुभयो । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)का प्रदेश अध्यक्षसमेत रहेका धमलाले ऐनका प्रावधान लागू नहुनु दुःखद भएको बताउनुभयो ।

नेपालको संविधान २०७२ को धारा ३३ को उपधारा (१) मा रोजगारीको हक तथा धारा ३४ को उपधारा (१) र (२) मा ‘सबै श्रमिकहरुलाई उचित श्रम अभ्यास तथा उचित पारिश्रमिक, सुविधा र योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुनेछ’ भनेर उल्लेख गरिएको छ । श्रम ऐन २०७४ को दफा १०७ मा हरेक दुई–दुई वर्षमा श्रमिकहरूको पारिश्रमिक निर्धारण गर्नुपर्ने व्यवस्था छ । तर, व्यवस्थाविपरीत दुई वर्षमा पारिश्रमिक निर्धारण हुन नसक्नु दुःखद् भएको धमलाको भनाइ छ ।

नेपाल ट्रेड युनियन कांग्रेसका कोशी प्रदेश अध्यक्ष नारायणबाबू कार्कीले रोजगारदाताहरूले पनि सहज संवादको माध्यमबाट निष्कर्ष दिनुपर्ने बताउनुभयो ।

कार्कीले ऐन र कानुनअनुसार मजदुरको पारिश्रमिक वृद्धिको विषयमा सरकार तथा रोजगारदाता उदासिन बनेको बताउनुभयो । न्यूनतम आवश्यकता पूरा गर्नसक्ने गरी आम्दानी वृद्धि र सहज जीवन निर्वाहको सुनिश्चितताले मात्रै श्रमिकको जीवनस्तर सुधार हुने कार्कीले बताउनुभयो ।