सामाजिक कार्य विषयको पाठ्यक्रमलाई समयानुकुल बनाइने

विराटनगर १७ असार । सामाजिक कार्यका लागि दक्ष जनशक्ति अभाव रहेको विभिन्न संघ संस्थाहरूले गुनासो गरेका छन् । पूर्वाञ्चल विश्वविद्यालय जनता आदर्श बहुमुखी क्याम्पसले विराटनगरमा गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीले सामाजिक संघ संस्थाका लागि आबश्यक दक्ष जनशक्तिको अभाव रहेको बताएका हुन् ।

महिला, बालबालिका जस्ता संवेदनशील क्षेत्रमा काम गर्ने संस्थाले व्यक्तिगत गोपनियता लगायतका विषयमा संवेदनशील हुनुपर्ने भएकाले यस्ता विषय अध्ययनकै क्रममा विद्यार्थीहरूलाई जानकारी गराउनुपर्नेमा उनीहरूले जोड दिएका छन् । सामाजिक कार्य अध्ययन गरेका जनशक्तिको अभावमा अन्य विषय अध्ययन गरेका जनशक्तिले काम चलाउनु परेको सिविनका कोशी प्रदेश प्रमुख वासु अधिकारीले गुनासो गरेका छन् । क्याम्पसका सह–प्राध्यापक डा. रमेश वाबु काफ्ले कार्यक्रमको आबश्यकता र औचित्यताको विषयमा प्रकाश पारेका थिए भने उपप्राध्यापक पुकार चौधरीले सामाजिक कार्यको पाठ्यक्रमले समेटेका क्षेत्रका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

सामाजिक कार्यमा अध्ययनरत विद्यार्थीको कार्यक्षेत्र सरकारी र सामाजिक संघ संस्था रहेकाले कक्षा कोठाको सिकाई र कार्यक्षेत्रको अभ्यासलाई एक रूपता दिन सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको क्याम्पस प्रमुख तथा निर्देशक महेश प्रसाद निरौलाले बताए । कला, कानून तथा शिक्षा संकायका डीन प्राध्यापक डाक्टर अनिल पोखरेलले सामाजिक कार्यमा क्रियाशिल संघ संस्था र सरकारी कार्यालयको आबश्यकतालाई पुरा गर्ने जनशक्ति उत्पादन गर्ने प्रतिबद्धता जनाएका छन् ।

आबश्यकता अनुसारको गुणस्तरीय जनशक्ति उत्पादन गर्न समयानुकुल पाठ्यक्रम परिमार्जन गरी व्यवहारिक बनाउने डीन पोखरेलले जानकारी दिएका छन् । कार्यक्रममा सोमराज थापा, लखन साह, दीपक चापागाईं, सरस्वती दनुवार, संजीव चापागाईं लगायतले सामाजिक कार्यका विद्यार्थीलाई सैद्धान्तिक ज्ञानका अलावा अभ्यासमा आधारीत शिक्षा दिन सुझाव दिएका छन् ।