विराटनगर १४ असार । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन प्रदेशसभामा प्रस्ताव पेस गर्नुभएको छ । आज बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव पेस गर्नु भएको हो ।
विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुअघि सरकारको तर्फबाट मुख्यमन्त्री कार्कीले बजेटसम्बन्धी अध्यादेश प्रदेशसभामा पेश गर्नुभएको थियो । प्रदेश सरकारले प्रदेशअधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत आगामी आर्थिक वर्षको बजेट ल्याएको थियो ।
सरकार जोगाउन मुख्यमन्त्री कार्कीलाई ४७ मत आवश्यक पर्छ । कार्कीलाई एमालेका ४० र राप्रपाका ६ सांसदको मात्र समर्थन रहेको छ । कोशी प्रदेशमा एमालेको ४०,राप्रपाको ६ सिट रहेको छ । त्यसैगरी विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका २९, सभामुखबाहेक माओवादी केन्द्रका १२, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद छन् । सभामुखबाहेक दुवै पक्षमा समान ४६–४६ सांसद हुन्छन् । बराबरी भएको अवस्थामा सभामुखले निर्णयक मत दिन पाउँने व्यवस्था छ । तर जसपाले भने मत कसैलाई मत नदिएर तटस्थ बस्ने जनाएको छ । कार्की गत पुस २४ मा मुख्यमन्त्री बन्नु भएको थियो ।