विराटनगर १६ जेठ । समाजको भ्रष्टाचारमुखी मानसिकताले नेपालमा भ्रष्टाचार मौलाइरहेको एक कार्यक्रमका सहभागिहरूले बताएका छन् । सोमबार विराटनगरमा साझा सवालका लागि साझा मञ्च कोकनले गणतन्त्र दिवसका अवसरमा आयोजना गरेको अनियन्त्रित भ्रष्टाचार गणतन्त्रको मुख्य चुनौति विषयक अन्तरसम्बाद कार्यक्रममा सहभागिहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा राजनीतिशास्त्री तथा प्राध्यापक कृष्ण पोखरेलले समाजको भ्रष्टाचार मुखि मानसिकताले भ्रष्टाचार गर्न प्रेरित गरिरहेको बताउनुभयो । उहाँले समाजमा जागिर खाएर हाटहुट लाटलुट गर्नुपर्ने, राजनीति गरेर हाटहुट, लाटलुट पार्नुपर्ने मानसिकता रहेको बताउनुभयो । उहाँले भ्रष्टाचारलाई भ्रष्टाचार नै नमान्ने जसले भ्रष्टाचार गरेर अकुत सम्पत्ती आर्जन गर्छ समाजले उसैको मान गर्ने प्रबृत्ती रहेको बताउनुभयो । पोखरेलले भ्रष्टाचार अन्त्य गर्न राजनीतिबाटै थाल्नु आबश्यक रहेको स्पष्ट पार्नुभयो । राजनीति ठीक ठाउँमा ल्याए भ्रष्टाचार अन्त्य हुने पोखरेलको धारणा छ ।
नेपाली कांग्रेसका नेता तथा भ्रष्टाचार विरोधी अभियन्ता सुयर्माराज राईले भ्रष्टाचारमा जो नेता जोडिएपनि छानविन गरी कार्वाहीको दायरामा ल्याउन आबश्यक रहेको बताउनुभयो । उहाँले राजनीतिलाई सुद्धिकरण नगरी भ्रष्टाचारको अन्त्य गर्न नसकिने स्पष्ट पार्नुभयो । नेकपा एमालेका केन्द्रिय सदस्य रामलाल साहले पैसा हुनेले मात्रै चुनाव जित्ने अवस्थाले राजनीतिमा भ्रष्टाचारको विजारोपण गरिरहेको बताउनुभयो । उहाँले राजनीतिमा समानुपाति प्रणाली पनि वेथितिको घरका रुपमा रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा कोकनकी अध्यक्ष मञ्जीता उपाध्याय, नेपाली कांग्रेस मोरङकी कोषाध्याक्ष रञ्जु अधिकारी,जसपाका नेता संजय सिंह, इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापालगायतले भ्रष्टाचार नियन्त्रण गर्ने अभियान घरैबाट सुरु गर्न आबश्यक रहेको बताउनुभयो ।
कार्यक्रमको सहजीकरण कोकन सल्लाहकार कोषराज न्यौपानेले गर्नु भएको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको कोकन कार्यक्रम संयोजक हेमन्तराज पौडलले जानकारी दिनुभयो ।