विराटनगर ६ जेठ । कोशी प्रदेश सरकारका वन, पर्यटन तथा वातावरण मन्त्री जीवन आचार्यले स्थानीय स्तरमा रहेका पर्यटकीय तथा ऐतिहासिक क्षेत्रहरुको विकास गरिने बताउनु भएको छ । प्रदेश सरकारले संभावना भएका पर्यटकीय क्षेत्रको आवस्यक संरक्षण र विकास गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वन, पर्यटन तथा वातावरणले शनिबार आयोजना गरेको हाफ म्याराथन प्रतियोगिताको सुनसरी बर्जु गाउँपालिका ६ मा रहेको बर्जु तालमा समापन गर्दै मन्त्री आचार्यले सो कुरा बताउनु भएको हो । विराटनगर राजाको दरवार देखि बर्जुताल सम्मको २३ किलोमिटरको हाफ म्याराथन प्रतियोगिता खेलकुदका लागि मात्रै नगरिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ खेलकुदसँगै पर्यटकीय क्षेत्रको प्रबद्र्धन पनि हो ।’ प्रदेश सरकारले विराटराजाको दरबार र बर्जुलाई जोड्न चाहेको मन्त्री आचार्यको भनाई छ । बर्जुतालको दुरगामी विकास गर्ने उद्देश्यका साथ विराटनगर देखि बर्जुसम्मको हाफ म्याराथन प्रतियोगिता गरिएको उहाँले बताउनुभयो । मन्त्री आचार्यले भन्नुभयो,‘ बर्जुबासीले पूर्वप्रधानमन्त्रीहरुको आश्वासन मात्रै पाएको तर काम नभएको गुनासो गरेको मैले सुनेको छु । म आश्वासन दिन्न विकास गरेरै छाड्छु ।’
मन्त्री आचार्यले बर्जु ताल क्षेत्रमा स्वदेशी तथा विदेशी पर्यटकको आवागमन वृद्धि गर्न आवश्यक पूर्वाधार निर्माण गरिने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । संघीय सरकारको समेत लगानीमा विराट राजाको दरवार र बर्जुताल जोड्नका लागि थप लगानी ल्याइने बताउनुभयो । समापन कार्यक्रममा प्रदेश सभा सदस्यहरु अमृत अर्याल, रामदेव यादव, मन्त्रालयका सचिव डा सञ्जीवकुमार राई, बर्जु गाउँपालिकाका अध्यक्ष जीवछकुमार रायले बर्जु तालको विकासबाट मुलुकको समृद्धि झल्कने विचार व्यक्त गर्नु भएको थियो ।