प्रदेश प्रमुख समक्ष मुख्य न्यायाधिवक्ताको कार्यालय वार्षिक प्रतिवेदन हस्तान्तरण

विराटनगर, ३ जेठ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ्ग समक्ष प्रदेशको मुख्य न्यायाधिवक्ताको कार्यालयले आज यहाँ वार्षिक प्रतिवेदन वुझाएको छ ।

प्रदेश प्रमुख खापुङ्गलाई प्रदेश प्रमुखको कार्यालयमा प्रदेशका मुख्य न्यायाधिवक्ता गजेन्द्र आचार्यले आर्थिक वर्ष २०७८/७९ बार्षिक प्रतिवेदन वुझाउनु भएको हो । कार्यालयले मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य, अधिकार र सेवाका सर्त सम्बन्धी ऐन, २०७५ को दफा १२ बमोजिम वार्षिक प्रतिवेदन वुझाएको हो । प्रदेश प्रमुख खापुङ्गले प्रतिवेदन ग्रहण गर्दै नेपालको संविधान एवं प्रचलित ऐन कानूनले तोके वमोजिम काम कर्तव्यहरु कार्यालयले सफलतापूर्व सम्पन्न गर्न सफल भएको विश्वास लिएको बताउनु भएको छ । उहाँले दरबन्दी अनुसारको कर्मचारीको अभाव भएपनि मेहनतका साथ कार्य सम्पादन भएकोमा खुशी व्यक्त्त गर्नु भएको छ ।

प्रदेश प्रमुख खापुङ्गले विराटनगर वाहिर विभिन्न स्थानहरुमा कार्यालयवाट इजलास स्थापना गरी कार्यहरु सम्पादन भएको जानकारी प्राप्त भएको बताउनु भयो । मुख्य न्यायाधिवक्ता आचार्यले कार्यालयले कानून वमोजिम कार्यहरु सञ्चालन गर्ने , प्रदेश उपर दायर गरेको मुद्दा उपर प्रतिरक्षा गर्ने र सरकारलाई कानूनी परामर्श दिने मुख्य तीन कार्य रहेको बताउनु भयो ।