उद्योगहरुको सुरक्षा, सवलीकरण तथा महासंघको स्थायी संरचना मुख्य प्राथमिकता : अध्यक्ष राउत

विराटनगर ३१ वैशाख । नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रदेश भित्र सञ्चालित उद्योगहरुको सुरक्षासँगै सवलीकरण गर्दै लैजाने बताउनु भएको छ । उहाँले कोशी प्रदेश भित्र सञ्चालित उद्योगहरुको सुरक्षाको प्रत्याभूती गराउँदै सवलीकरण गरिदै लैजाने प्रतिबद्धता व्यक्त गर्नु भएको हो ।

आज विराटनगरमा आयोजित नेपाल उद्योग बाणिज्य महासंघ कोशी प्रदेशका नवनिर्वाचित अध्यक्ष, कार्यकारिणी पदाधिकारी तथा सदस्यहरुको पदस्थापना कार्यक्रममा अध्यक्ष राउतले सो कुरा बताउनु भएको हो । उहाँले कार्यकाल अवधिभरमा संगठन विस्तार गरि आर्थिक रुपमा मजबुत बनाईने बताउनु भयो । उद्योगहरुको अभिलेखीकरण गरि उद्योगहरुमा आईपर्ने समस्याहरुको समाधान गर्दै लगिने उहाँले प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो,‘ प्रदेश भित्रका उद्योगहरुको प्रोफाईल तयार गरिसकेका छौं, चाँडै सार्वजनिक गरिने छ ।’ कार्यकाल अवधि भित्रमा महासंघको स्थायी संरचना निर्माण, उद्योगका समस्या समाधानका लागि सरकार तथा सरोकारवालाहरुसँग निरन्तर संवादमा रहने लगायतका कार्यहरु गरिने बताउनुभयो । अध्यक्ष राउतले पछिल्लो समय उद्योग क्षेत्रमा नयाँ लगानी भित्रन नसकेको बताउनुभयो । मुलुक आर्थिक मन्दी तर्फ उन्मुख भईरहेको अध्यक्ष राउतको भनाई छ । कार्यक्रममा सहभागी हुनु भएका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल समक्ष उहाँले नेपाल उद्योग बाणिज्य महासंघ केन्द्रीय समितिले प्रदेश समितिहरुलाई जिम्मेवार बनाउँदै केन्द्रको बोझ कम गर्दै लैजानुपर्ने बताउनुभयो ।

गत चैत ९ गते झापामा भएको उद्योग बाणिज्य महासंघको निर्वाचनमा राउत सहितको समिति २ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित भएको थियो । अध्यक्ष राउतले पदस्थापना कार्यक्रममा सरु केसी र देवकीनन्दन अग्रवाललाई सदस्यमा मनोनित गर्नु भएको छ । त्यसैगरि अध्यक्ष राउतले यमबहादुर श्रेष्ठ, नवराज घिमिरे, मेघराज सिग्देल, मनोजविक्रम शाह, विजय श्रेष्ठ, विनोद वस्नेत र रामविनोद रायलाई आमन्त्रित सदस्यमा मनोनित गर्नुभएको छ ।