विराटनगर २७ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतीमा प्रदेशको नाम ‘कोशी’ राखिएको बताउनु भएको छ ।
नगेन्द्रप्रसाद – आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा आज यहाँ आयोजित पुरस्कार तथा सम्मान समर्पण छौठो संस्करणको–२०८० को उद्घाटन गर्दै उहाँले दुई तिहाई वहुमतद्वारा राखिएको नामको विरोधमा केही पहिचानवादीले हिंसागत गतिविधि एवं तोडफोडको घटनाप्रति दुःख व्यक्त्त गर्नु भयो ।
मुख्यमन्त्री कार्कीले सरकारको गठन भएको ५२ दिन एवं प्रदेश सभाको १३ औं वैठकवाट पाँच वर्षसम्म राख्न नसकिएको प्रदेशको नाम टुङ्ग्याएको जानकारी दिदै कोशी नाम ठिक छ भने नगरका वुद्धिजीवी, प्रौढ एवं नगरवासीहरुले यसको समर्थनमा शान्तिपूर्ण रुपमा सडकमा आउन आग्रह समेत गर्नु भयो । उहाँले वहुभाषिक, वहुजातिय,विविध भौगोलिकता र १२८ जातजाति वसोबास गर्ने यो मुलुकको हो भन्दै विविधता वीच एकता नै नेपालको गहना भएको प्रष्ट पार्नु भयो ।
मुख्यमन्त्री कार्कीले भन्नु भयो –‘नेपालमा सबै जातजातिले एक अर्काको भाषा, धर्म र सस्कृत सम्मान गर्ने हामीहरुको एतिहासिक परिचय रहेको छ ।’ उहाँले सरकारले विराटनगरको ऐतिहासिक पहिचानलाई कायम राखी आधुनिक पहिलो शहरको रुपमा बनाउनका लागि उपलव्ध स्रोत र साधनले भ्याएसम्म आवश्यक भौतिक संरचना निर्माण गर्ने प्रतिवद्धता व्यक्त्त गर्दै समाजको प्रगति, शान्ति, विकासमा योगदान नागरिकहरुसँग आग्रह गर्नु भयो । पूर्वमन्त्री एवं जनता समाजवादी पार्टीका नेता जयराम यादवले प्रदेशको नामाकरण कानूनसम्मत रहेको छ भन्दै सत्यको पक्षमा नगरवासी लाग्नु पर्नेमा जोड दिनु भयो ।
प्रष्ठिानका अध्यक्ष इन्दिरा रिजाल, कविराज न्यौपाने, विवस पोखरेल, लक्ष्मी नारायण मन्दिर पाञ्चालीका अच्यत श्री प्रपनाचार्यले धार्मिक र साहित्य क्षेत्रका विविध पक्षमा चर्चा गर्नु भयो । सो अवसरमा मुख्यमन्त्री कार्कीले नगेन्द्रप्रसाद आशालता रिजाल धर्म सस्कृति पुरस्कारबाट आबाल ब्रहम्हचारी देवराजाचार्य स्वामी महाराजजीलाई नगद रु एक लाख १ हजार १११ र सम्मानपत्रद्वारा सम्मान गर्नु भयो । यसैगरी उहाँले नगेन्द्र–आशा साहित्य पुरस्कारवाट साहित्यकार दधिराज सवेदीलाई नगद रु एक लाख एक हजार १११ एवं सम्मान पत्रद्वारा सम्मान गर्नु भएको थियो ।