कोशी प्रदेश नामकरण विरुद्धको आन्दोलनप्रति उद्योग प्रतिष्ठानहरुको ध्यानाकर्षण

विराटनगर १२ वैशाख । विराटनगरका तीनवटा उद्योग प्रतिष्ठानहरुले कोशी प्रदेश खारेजीको माग गर्दै पहिचान पक्षधरको हिंसात्मक आन्दोलनप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

प्रदेश राजधानी विराटनगरमा रहेका उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेशले आज संयुक्त विज्ञप्ती निकाल्दै विगत केही दिनदेखि प्रदेशको नामकरणको विषयलाई लिएर शुरु भएको हिंसात्मक आन्दोलनले उद्योग/व्यवसाय/पेशा सञ्चालन गरी जिविकोपार्जन गर्न चाहने मानिसको दैनिकीमा परेको नकारात्मक प्रभाव प्रति ध्यानाकर्षण भएको जनाएका हुन ।

संवैधानिक व्यवस्था तथा निर्धारित विधि विधान बमोजिम नै सार्वभौम प्रदेश संसदले गरेको प्रदेशको नामकरणका सम्बन्धमा चित्त नबुझेमा रचनात्मक र शान्तिपूर्ण माध्यमबाट सम्वन्धित पक्षसमक्ष आफनो असन्तुष्टि राख्न र समाधान खोज्न संयुक्त विज्ञप्तीमा आग्रह गरिएको छ ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेल र उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष भीम घिमिरेले संयुक्त विज्ञप्ति जारी गर्दै वहुसंख्यक राजनीतिक दलहरुको साझा सहमतिमा दुई तिहाई भन्दा अत्यधिक प्रदेशका ९१ प्रतिशत प्रदेशसभासदस्यहरुबाट वहुमतका साथ प्रजातान्त्रिक पद्धतीबाट कोशी प्रदेश नामाकरण गर्न सफल हुनु भएकोमा प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।

गत फागुन १७ गते प्रदेशसभाबाट प्रदेश १ को नाम कोशी प्रदेश नामकरण गरेपछि पहिचान पक्षधरहरु आन्दोलिन बनेका छन् । उनीहरुको आन्दोलन हिंसात्मक बन्दै गएपछि चौतर्फी रुपमा आलोचना शुरु भएको छ ।

प्रदेश राजधानी विराटनगरमा गत चैत ५ गतेको प्रदर्शनका क्रममा घाइते भएका मोरङको बेलबारी नगरपालिका–२ का ४२ वर्षीय पदम लिम्बू ‘लाजेहाङ’को मृत्यु भएको थियो । उपचारका क्रममा चैत १० गते उनको मृत्यु भएको हो ।