प्रदेश र स्थानीय सरकार बीचको सम्बन्ध व्यवहारिक बनाउनुपर्छ: मुख्यमन्त्री कार्की

विराटनगर, ४ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश र स्थानीय सरकार बीचको सम्बन्धलाई व्यवहारिक बनाउन आवश्यक रहेको बताउनु भएको छ । आज विराटनगरमा आयोजित ‘कोशीप्रदेश समन्वय परिषद’को बैठकमा बोल्दै मुख्मन्त्री कार्कीले सो कुरा बताउनु भएको हो ।

उहाँले प्रदेश र स्थानीय सरकार बीच कुनै समस्या आएमा त्यसलाई आपसी समन्वयबाटै समाधान गर्नुपर्ने कुरामा जोड दिदै यस्ता समस्यालाई आमसञ्चार माध्यममा छरपस्ट नपार्न स्थानीय तहका पदाधिकारीहरुलाई निर्देशन दिनुभयो । मुख्यमन्त्री कार्कीले प्रदेश र स्थानीय दुबै सरकार वित्तीय हिसावले कमजोर भएकाले आपसमा समन्वय गरेर काम गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नभयो,‘आगामी वर्ष देखि प्रदेश सरकारको अर्थमन्त्रालय अन्तर्गत राजस्व महाशाखा मार्फत स्थानीयतह सँग समन्वय गरेर काम गर्ने पद्धतिको विकास गर्ने कुरामा प्रदेश सरकारले ध्यान दिने छ ।’ उहाँले वित्तीय हस्तान्तरण अन्तर्गत सशर्तको बजेटमा योजना होइन क्षेत्र मात्र तोकेर स्थानीय तहमा एकमुष्ट बजेट पठाउने कुरामा प्रदेश सरकारले ध्यानदिने बताउनु भयो । त्यस अघि विभिन्न स्थानीय तहका पदाधिकारीहरुले वित्तीय हस्तान्तरण मार्फत आउने सशर्तको अनुदानमा योजना नै तोकेर आउने गरेको गुनासो गरेका थिए ।

मुख्यमन्त्री कार्कीले स्थानीयतहका पदाधिकारीहरुले उठाएका विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउँदै योजनाहरु दोहोरिने समस्या, न्यायिक समितिमा देखिएको जनशक्ति अभाव लगायतका विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो । बैठकले प्रदेश सरकारको आगमी आर्थिक वर्ष २०८०–०८१ मा प्रस्तुत हुने वार्षिक नीति तथा कार्यक्रमका सम्बन्धमा, प्रदेश र स्थानीयतहले सञ्चालन गर्ने कार्यहरुको समन्वय, सहजीकरण अनुगमन, राजस्व सङ्कलन तथा बाडफाँड, स्थानीयतहका आवधिक योजनाहरु निर्माण गर्ने, जिल्ला समन्वय समितिको कार्य व्यवस्थालाई थप प्रभावकारी बनाउन समिति गठन गर्ने, समन्वय परिषदको कामलाई प्रभावकारी बनाउन विभिन्न उपसमितिहरु गठन गर्ने, लगायतका विषयमा विभिन्न निर्णयहरु गरेको छ ।

बैठकमा कोशी प्रदेश सरकारका प्रमुख सचिव डा दीपक काफ्ले छलफलका विषयहरु प्रस्तुत गर्नु भएको थियो । छलफलका क्रममा समन्वय परिषदका सदस्यहरु, प्रदेश मन्त्रालयका सचिवहरुले प्रस्तुत विषयहरु मथि आ–आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।