ऋचा मेमोरियल टी–२० क्रिकेटको उपाधि विभागिय टिम आर्मीलाई

विराटनगर ३ वैशाख । प्रथम ऋचा मेमोरियल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मीले जितेको छ । विराटनगर जुट मिलको खेल मैदानमा आज सम्पन्न भएको फाइनलमा घरेलु टिम एनबीएससीलाई ६ विकेटले हराउँदै आर्मीले उपाधि जितेको हो ।

१११ रनको विजय लक्ष्य पछ्याएको आर्मीले ११ दशमलव ३ बलमा ४ विकेटको क्षतिमा पूरा गर्यो । यसअघि टस हारेर ब्याटिङ गरेको एनबीएससीले १७ दशलव २ बलमा सबै विकेट गुमाई ११० रनमा समिति भयो । उपाधिसँगै आर्मीले १ लाख ५० हजार रुपैयाँको साथै आकर्षक ट्रफी पाएको छ । उपविजेता भएको एनबीएससीले ७५ हजार रुपैयाँमा चित्त बुझायो । प्रतियोगिताको बेस्ट ब्याटरमा एमबी ग्रुप डडेलधुराका दिपक बोहरा घोषित भए । उनले खेलअवधिभरीमा ११५ रन बनाएका थिए ।

यस्तै प्लेयर अफ सिरीज दिल्ली युनाइटेडका साकेत केडिया भए । उनले १०५ रन र ४ विकेट लिएका थिए । उनले ५० हजार मूल्य बराबरको क्रिकेट किड पाए । बेस्ट बलरमा आर्मीका जितेन्द्र मुखिया घोषित भए ।