आजदेखि २०८० साल सुरु

विराटनगर १ वैशाख । नयाँ वर्ष २०८० साल आजदेखि सुरु भएको छ । नयाँ वर्षको अवसरमा आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षाेल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिने परम्परा छ । नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गरेका छन् ।

विक्रम सम्वत १३५ देखि शक सम्वत, सम्वत ६३३ देखि मानदेव सम्वत, विक्रम सम्वत ९३६ देखि नेपाल सम्वत चलेको हो । यी सम्वतमध्ये अहिले मानदेव सम्वतको चलन हराइसकेको छ । विक्रमको १२औँ शताब्दीमा गुजरातबाट आएका विद्वानले किताब सार्दा पहिलोपटक विक्रम सम्वतको प्रयोग गरेको लिखित दस्तावेज फेला परेको इतिहासकारहरू बताउँछन् ।