विराटनगर ३० चैत । सत्यनारायण मावि विराटनगरले २० जना विद्यार्थीलाई छात्रबृत्ति वितरण गरेको छ । कक्षा ६–१२ सम्मका उत्कृष्ट ७ छात्रा, गरिव तथा जेहन्दार र अनुशासित गरि २० विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिएको हो ।
उत्कृष्ट ७ छात्रालाई नगद ११/११ हजार, ९ र १० का गरिव, जेहन्दार र अनुशासित ७ जना छात्र–छात्रालाई ५/५ हजार र कक्षा ११–१२ का गरिव, जेहन्दार र अनुशासित ६ जना छात्र–छात्रालाई नगद ६/६ हजारका दरले छात्रबृत्ति वितरण गरिएको प्रधानाध्यापक पुरुषोत्तम गुरागाँइले जानकारी दिनुभयो । छात्रबृत्तिले विद्यार्थीलाई अध्ययनप्रति लगाव बढाउने र उच्च शिक्षा अध्ययनमा सहजता हुने उहाँको भनाई छ ।
विद्यालयका पूर्वविद्यार्थी मनोज गोयलकी श्रीमती सुमनदेवी गोयलका नाममा वि.स.२०५८ सालमा स्थापित छात्रबृत्ति कोषबाट हरेक वर्ष विद्यार्थीलाई छात्रबृत्ति वितरण गरिदै आईएको विद्यालयका प्रधानाध्यापक गुरागाँइले बताउनुभयो । कोषका संरक्षक समाजसेवी दीनबन्धु गोयलले विद्यालयमा १४ लाखको अक्षयकोष स्थापना गर्नु भएको छ । ४ लाखबाट स्थापना गरिएको कोषमा गत बर्ष १० लाख थप गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिव्यराज कट्टेलले जानकारी दिनुभयो ।
छात्रबृत्ति वितरण कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मोरङका प्रमुख टंक गौतमले छात्रबृत्ति कोषलाई व्यवस्थित गर्नुपर्ने आवस्यकता रहेको बताउनुभयो । उहाँले बाँस्केट फण्डको अवधारण अनुसार छात्रबृत्ति सञ्चालन निर्देशिका तयार भईसकेको बताउनुभयो । निर्देशिका जारी भएपछि विद्यालयमा रहेका छात्रबृत्ति कोषहरुलाई व्यवस्थित बनाउँदै लगिने बताउनुभयो । उहाँले भन्नुभयो,‘ विभिन्न दाताका नाममा रहेका कोषलाई एकै ठाउँमा जम्मा गरेर विद्यालयले खाता सञ्चालन गर्ने छ । कोषको अभिलेख राखेर दातालाई जानकारी दिइने छ ।’ कोषको दिगोपना र दाता धेरै भएका ठाउँमा अनावस्यक समस्या पनि नहुने उहाँको भनाई छ ।
छात्रबृत्ति वितरण कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई मोरङका गौतम, कोषका संरक्षक गोयल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कट्टेल, प्रधानाध्यापक गुरागाई, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।