विराटनगर २६ चैत । विराटनगर महानगरपालिकाको आन्तरिक आय अभिवृद्धि गर्ने उद्देश्यका साथ वडा सदस्यसमेत रहेका सम्पर्क व्यक्तिहरुका लागि क्षमता वृद्धि तालिम सुरु भएको छ । विराटनगर महानगरपालिकाको आयोजनामा सुरु भएको तालिमको महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले उद्घाटन गरे ।
तालिममा १९ वटै वडाका सम्पर्क व्यक्ति सहभागी छन् । महानगरले आफ्नो आन्तरिक आय वृद्धिका लागि हरेक वडामा सदस्यलाई चार वर्षका लागि सम्पर्क व्यक्ति तोकेको छ । यसरी तोकिएका सम्पर्क व्यक्तिले स्वयमसेवकहरुसँगै घरदैलोमा जाने, कर बढाउन अभियान सञ्चालन गर्ने, करको दायरामा ल्याउन करदाता शिक्षा अभियान सञ्चालन गर्नेसहित विकास निर्माणका विषयमा समेत सहजीकरण गर्दै आएका छन् । करका विषयमा समस्या आए सम्पर्क व्यक्तिहरुले महानगरसँग समन्वय गरेर समाधान गर्नेछन् । प्रमुख प्रशासकीय अधिकृत कोइरालाले आन्तरिक आय वृद्धिका लागि महानगरले कर संकलन अभियान सञ्चालन गरिरहेको बताए ।
आन्तरिक आय बलियो नबनाएसम्म विकास निर्माणले गति लिन नसक्ने उनको भनाइ थियो । सो अवसरमा राजस्व महाशाखा प्रमुख सरोज गौतम, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियालगायतले वडास्तरमै जनप्रतिनिधिलाई सम्पर्क व्यक्ति तोक्दा कर संकलन अभियान प्रभावकारी भएको दाबी गरे । दुईदिनसम्म सञ्चालन हुने तालिममा करविज्ञ खगेन्द्र खतिवडाले सहजीकरण गरेका थिए ।