विराटनगर १९ फागुन । आगामी वैशाखमा चितवनमा हुने उपनिर्वाचनलाई लक्षित गरेर मोरङमा पनि मतदाता नामावली अद्यावधिक गरिने भएको छ । फागुन २२ गतेदेखि चैत १ गते सम्म मतदाता नामावली अद्यावधिक, दावी विरोध सहितको कार्यक्रम सञ्चालन गरिने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।
निर्वाचन कार्यालयले आज मोरङका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुसँग मतदाता नामावली अद्यावधिकका लागि छलफल कार्यक्रम गरेको छ । प्रतिनिधिसभा निर्वाचनमा देशको जुनसुकै क्षेत्रबाट पनि उम्मेदवारी दिन सकिने व्यवस्था भएकाले ७७ वटै जिल्लाको मतदाता नामावली अद्यावधिक गर्नुपर्ने प्रदेश निर्वाचन कार्यालयका प्रमुख लेवन कश्यप अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘ मोरङमा मतदाता नामावली भएको व्यक्ति उपनिर्वाचन हुने क्षेत्रमा उम्मेदवारी दिन सक्ने भएकाले अद्यावधिक गर्नुपरेको हो ।’ मतदाता नामावली अद्यावधिकका लागि अनलाईन मार्फत पनि आवस्यक कागजात सहित आवेदन दिन सकिने उहाँले बताउनुभयो । उहाँले राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुलाई मृत्यु भएका व्यक्तिहरुको बारेमा पनि सूचना दिएर अद्यावधिक कार्यक्रममा सहयोग गर्न आग्रह गर्नुभयो ।
मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले मतदाता नामावली अद्यावधिकको कार्य उपनिर्वाचन लक्षित भए पनि आयोगको नियमित कार्यक्रम भएको बताउनुभयो । उहाँले राजनीतिक दलको संयन्त्र तल्लो तह सम्म हुने भएकाले अद्यावधिकका लागि पार्टीका तल्ला कमिटी सम्मलाई निर्देशन दिएर कार्यक्रममा सहयोग गर्न आग्रह गर्नुभयो ।
गत मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा मोरङमा ७ लाख ३५ हजार ५२५ जना मतदाता रहेका थिए । गत माघ १ गतेदेखि विहीबार सम्म मोरङमा १२० जना नयाँ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख अधिकारीले बताउनुभयो ।